Dhulikhel Eco Banner new

सान्भि इनर्जीको आईपीओ आगामी सोमवार बाँडफाँट हुने

1.98K
shares

काठमाडौं, २३ जेठ । सान्भि इनर्जी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्राथमिक शेयर (आईपीओ) जेठ २६ गते सोमवार बाँडफाँट हुने भएको छ।

कम्पनीले सर्वसाधारणका लागि जेठ ९ गतेदेखि १३ गतेसम्म २४ लाख १५ हजार ३०० कित्ता आईपीओ निष्कासन गरेको थियो। उक्त आईपीओमा करीब २१ लाख ८ हजारभन्दा बढी लगानीकर्ताबाट २ करोड ५८ लाख ९० हजार कित्ता शेयरको मागसहित आवेदन परेको छ, जुन माग उपलब्ध शेयरभन्दा करिब ११ गुणा बढी हो।

कम्पनीका अनुसार, योग्य २ लाख ४१ हजार ५३० जना आवेदकले १० कित्ताका दरले शेयर पाउनेछन्। कुल शेयरमध्ये आयोजनाबाट प्रभावित स्थानीयका लागि ४ लाख ८० हजार कित्ता, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि २ लाख ९१ हजार कित्ता, र कर्मचारी तथा सामूहिक लगानी कोषका लागि क्रमशः ५८ हजार २०० र १ लाख ४५ हजार ५०० कित्ता शेयर आरक्षित गरिसकिएको छ।

बाँडफाँट कार्यक्रम दिउँसो ३ बजे नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडको कार्यालयमा आयोजना हुने कम्पनीले जनाएको छ।

सान्भि इनर्जीले ८८ करोड रुपैयाँको जारी पूँजीको आधारमा सर्वसाधारणका लागि ४३.०७ प्रतिशत अर्थात् ३७ करोड ९० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गरेको हो। आईपीओ पश्चात कम्पनीको चुक्ता पूँजी ८८ करोड रुपैयाँ पुग्नेछ।

इलाम जिल्लामा ७.६ मेगावाट क्षमताको जोगमाई खोला साना जलविद्युत् आयोजना सञ्चालनमा ल्याइसकेको कम्पनीले हाल ५.२ मेगावाट क्षमताको जोगमाई क्यासकेड जलविद्युत् आयोजनाको ८९ प्रतिशत निर्माण कार्य पूरा गरिसकेको छ।

आईपीओ बाँडफाँटपछि कम्पनीमा संस्थापकको स्वामित्व ५६.९३ प्रतिशत, आयोजना प्रभावित स्थानीयको १० प्रतिशत, र कर्मचारी तथा सर्वसाधारणको संयुक्त स्वामित्व ३३.०७ प्रतिशत हुने कम्पनीले जनाएको छ। संकलित पूँजी जलविद्युत् आयोजना निर्माण तथा रणनीतिक उद्देश्यहरू प्राप्तिमा खर्च गरिनेछ।