Dhulikhel Eco Banner new

बैंक लाइसेन्स बन्द हुनु नै आर्थिक सुस्तताको कारण होः नरबहादुर थापा

3.46K
shares

काठमाडौं, २५ असार । नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले तरलता पर्याप्त हुँदा समेत मुलुकको अर्थतन्त्रमा देखिएको शिथिलताको मुख्य कारणमध्ये एक बैंकको लाइसेन्स बन्द हुनु भएको बताएका छन्।

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा आगामी मौद्रिक नीति सम्बन्धी छलफलका क्रममा बोल्दै थापाले तदर्थवादले मुलुक सञ्चालन गर्नु नहुने भन्दै देशलाई ‘वाणिज्य बैंकमयू बनाइएको अवस्था गलत भएको टिप्पणी गरे। उनका अनुसार, मुलुकले आफ्नो वित्तीय प्रणालीलाई विविधिकृत ढंगले विकास गर्नु आवश्यक छ, न कि केवल वाणिज्य बैंकमा सीमित राख्ने। ’

‘नेपालले विदेशबाट सित्तैमा अर्बौंको विदेशी मुद्रा पाइरहेको छ, त्यसले नीति निर्मातालाई मात्तिएको जस्तो देखिन्छ,’ थापाले भने। उनले विदेशी मुद्राको सहज आपूर्तिलाई दीर्घकालीन लाभको रूपमा नहेरी, योजनाबद्ध उपयोग गर्नुपर्नेमा जोड दिए।

थापाले सरकारको वैकल्पिक वित्त कोष स्थापना गर्ने प्रयासलाई सकारात्मक भने पनि यसको प्रभावकारी कार्यान्वयन अनिवार्य रहेको उल्लेख गरे।

‘लगानी निरन्तर घटिरहेको अवस्थामा उच्च आर्थिक वृद्धि दर कसरी सम्भव हुन्छ ’ भन्ने प्रश्न उठाउँदै उनले नीतिनिर्मातालाई दीर्घकालीन दृष्टिकोणसहितको आर्थिक सुधारको खाँचो औंल्याए।

थापाले निजी क्षेत्रको सहभागिता र नवीन वित्तीय ढाँचाको विकासमार्फत अर्थतन्त्रमा ऊर्जा थप्न सकिने उल्लेख गर्दै बन्द भएको बैंक तथा वित्तीय संस्थाको लाइसेन्स पुनः खोल्ने बहसलाई समेत पुनर्जीवित गर्नुपर्ने सुझाव दिएका छन्।