विद्यालय शिक्षा ऐन समयमै नआए गम्भीर आन्दोलन गर्ने महासंघको घोषणा
वि.सं.२०८२ असार ३० सोमवार ११:०४
shares

काठमाडौं,३० असार। विद्यालय शिक्षा ऐन समयमै जारी नभएपछि नेपाल शिक्षक महासंघले पुनः आन्दोलनमा जाने चेतावनी दिएको छ। विगतमा सरकारसँग भएका सहमति कार्यान्वयनमा ढिलाइ भएको भन्दै महासंघले शिक्षा विधेयक तत्काल संसदमा पेस गरी पारित गर्न माग गरेको हो।
महासंघले सोमबार एक विज्ञप्ति जारी गर्दै भनेको छ, “संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विधेयकमाथि चलिरहेको छलफल शीघ्र सम्पन्न गरी विगतका सहमति समावेश भएको अग्रगामी विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभामा पेस गरी पारित गराउन सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराउँछौं। अन्यथा हामी संवाद र छलफल छोडेर आन्दोलनतर्फ होमिनेछौं।”
महासंघले २०८० चैत २० गतेदेखि २९ दिन लामो चरणबद्ध आन्दोलन चलाएको थियो। त्यसपछि २०८१ वैशाख १७ गते भएको सहमतिमा असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभाबाट पारित गर्ने उल्लेख थियो। तर, तोकिएको समयसीमा भित्र ऐन जारी नहुँदा महासंघ फेरि आन्दोलित हुने अवस्थामा पुगेको हो।
विज्ञप्तिमा आन्दोलनको जग राज्यपक्षप्रतिको आक्रोश, निराशा र अविश्वासमा आधारित हुने उल्लेख छ। महासंघले यस्तो आन्दोलनबाट उत्पन्न असहज परिस्थिति र त्यसका परिणामको सम्पूर्ण जिम्मेवारी राज्यले लिनुपर्ने चेतावनी पनि दिएको छ। शिक्षक महासंघको विज्ञप्तिमा, शिक्षा क्षेत्रको सुधार र स्थायित्वका लागि ऐनको तर्जुमा र कार्यान्वयन अब ढिलो नगर्नु सरकारको जिम्मेवारी हो।
महासंघले अस्थायी शिक्षकको स्थायीत्व, स्थायी शिक्षकको बढुवा, विभागीय कारबाही, ट्रेड युनियन अधिकार, शिक्षक सरुवा, विद्यालय तथा बालकक्षा कर्मचारी व्यवस्थापन, संस्थागत विद्यालयका शिक्षक–कर्मचारीको स्थिति, द्वन्द्व पीडित शिक्षकको समाधान, दरबन्दी मिलान र व्यवस्थापनजस्ता विषयमा सरकारले पर्याप्त गम्भीरता नदेखाएको आरोप लगाएको छ।






















