कागजातविना सञ्चालनमा रहेका कन्सल्टेन्सीलाई २ लाख जरिवाना
वि.सं.२०८२ साउन ८ बिहीवार ११:२५
shares

काठमाडौं, ८ साउन । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कागजातविना सञ्चालनमा रहेका दुई शैक्षिक परामर्श संस्थालाई जरिवाना तिराएको छ।
काठमाडौं महानगरपालिका–३१ मा रहेका एसएसएम कर्पोरेसन प्रालि र ब्रिज इन्टरनेसनल ग्रुप प्रालिलाई विभागले समान एक–एक लाख रुपैयाँ जरिवाना गरेको हो।
दुवै कन्सल्टेन्सीले दर्ता प्रमाणपत्र नराखेको, नवीकरण नगरेको र इजाजतपत्र नलिएको पाइएपछि जरिवाना गरिएको हो। विभागको अनुगमन टोलीले थप सात कन्सल्टेन्सीलाई तीन दिनभित्र व्यवसायिक कागजातसहित उपस्थित हुन निर्देशन दिएको छ।
ती कन्सल्टेन्सीहरूमा बाबा नेपाल एजुकेसन कन्सल्टेन्सी, इन्टरनेसनल टेस्ट सेन्टर, रोयल जापानिज ल्याङ्ग्वेज एन्ड कल्चर सेन्टर, फर्स्ट सोर्स एजुकेसनल कन्सल्टेन्सी, नर्म एब्रोड स्टडी, पायन ओभरसिज र लैनसिंह एजुकेसन प्रालि परेका छन्।
लैनसिंह एजुकेसन प्रालिलाई विभागले सामान्य निर्देशन मात्रै दिएको छ। अनुमतिविना कन्सल्टेन्सी सञ्चालन गरिएको, बिलबिजक जारी नगरेको र नियमन उल्लंघन गरेको उजुरीपछि विभागले अनुगमन तीव्र पारेको हो।















