Dhulikhel Eco Banner new

स्वास्थ्य बीमा नवीकरण ढिलाइ गरे चारगुणा बढी शुल्क तिर्नुपर्ने

2.43K
shares

काठमाडौं, ९ साउन । सरकारले स्वास्थ्य बीमा समयमा नवीकरण नगर्ने सेवाग्राहीलाई चारगुणासम्म बढी शुल्क तिर्नुपर्ने व्यवस्था लागू गरेको छ। स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयन निर्देशिका, २०८२ अनुसार अब बीमा नवीकरणको म्याद छुटाउनेले आर्थिक भार बेहोर्नुपर्नेछ।

स्वास्थ्य बीमा बोर्डले स्वीकृत गरेको संशोधित अनुसूचीअनुसार बीमा म्याद सकिएको तीन महिनाभित्र नवीकरण गर्दा प्रिमियम रकमसहित थप ३५० रुपैयाँ तिर्नुपर्नेछ। हाल सरकारद्वारा पाँच सदस्यीय परिवारका लागि वार्षिक ३ हजार ५०० रुपैयाँ प्रिमियम तोकिएको छ, जसबाट एक लाख रुपैयाँसम्मको स्वास्थ्य सेवा प्राप्त गर्न सकिन्छ।

म्याद समाप्त भएर ६ महिनाभित्र नवीकरण गरेमा ४ हजार ५५० रुपैयाँ, ६ महिनादेखि एक वर्षभित्र नवीकरण गरेमा ५ हजार २५० रुपैयाँ तिर्नुपर्नेछ। यस्तै एक वर्षपछि नवीकरण गर्दा ७ हजार रुपैयाँ, दुई वर्षपछि १० हजार ५००, तीन वर्षभित्र १४ हजार र तीन वर्षभन्दा बढी ढिलाइ गरेमा १७ हजार ५०० रुपैयाँ तिर्नुपर्ने बोर्डले जनाएको छ। उक्त नयाँ व्यवस्था असार २४ गते सम्पन्न स्वास्थ्य बीमा बोर्डको बैठकबाट स्वीकृत भएको हो।