Dhulikhel Eco Banner new

फियन राष्ट्रिय समितिद्वारा युवा युनियन सदस्यहरूलाई सशक्तिकरण तालिम सम्पन्न

3.26K
shares

काठमाडौं, १६ साउन । नेपाल वित्तीय संस्था कर्मचारी संघ (फियन), राष्ट्रिय समितिको आयोजनामा “वित्तीय क्षेत्रका युवा युनियन सदस्यहरूका लागि सशक्तिकरण तालिम” शीर्षकमा एकदिने तालिम कार्यक्रम सम्पन्न भएको छ। उक्त तालिम २०८२ साउन १५ गते काठमाडौंको बत्तीसपुतलीस्थित होटल तपसमा सम्पन्न भएको हो।

नेपालका बैंक, बीमा, लघुवित्त, पूँजीबजार तथा अन्य वित्तीय संस्थाहरूमा कार्यरत करिब ५० जना युवा युनियन सदस्यहरू तथा एफआईयूएन राष्ट्रिय समितिका पदाधिकारीहरूको कार्यक्रममा सहभागिता रहेको थियो।

कार्यक्रमको उद्घाटन समारोहमा संघका अध्यक्ष पदमराज रेग्मीको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिका सभापति सन्तोष चालिसे प्रमुख अतिथिका रूपमा सहभागी थिए। उनले सरकारको हालको बजेट वक्तव्यमा उल्लेखित स्वतन्त्र स्वीकृत अवकाश कोषहरू खारेज गरी अन्य कोषहरूमा गाभ्ने निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै, वित्तीय संस्थामा कार्यरत कर्मचारीहरूको पेशागत हकहितको संरक्षणका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

त्यस्तै, संघीय सांसद सिता मिजार, नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्र कुमार कुँवर, युएनआई ग्लोबल युनियन एशिया तथा प्यासिफिकका कार्यक्रम संयोजक तिलकजङ्ग खड्का, एनटियुसी युवा समितिका अध्यक्ष दिपेन्द्र सुनार, युएनआई नेपाल युवा समितिका अध्यक्ष विरजित रोकाया तथा एफआईयूएन युवा समितिका सचिव भंकर रावल अतिथिका रूपमा सहभागी भई मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा सहभागी सबै अतिथि र सहभागीहरूलाई संघका वरिष्ठ उपाध्यक्ष परशुराम खनालले स्वागत गरेका थिए।

उद्घाटन समारोहपछिको तालिम सत्रमा स्रोत व्यक्ति डा. पिताम्बर भण्डारी (सहायक प्राध्यापक, त्रिभुवन विश्वविद्यालय) ले ‘युवा र युनियनको संलग्नता, वार्ता सीप र द्वन्द्व समाधान’ विषयमा प्रस्तुति दिएका थिए। त्यसैगरी युएनआई एशिया एण्ड प्यासिफिक ग्लोबल युनियनका प्रोफेसनल एण्ड म्यानेजर ग्रुपकी समिति सदस्य ई. पल्पसा तुलाधर कंशकारले ‘वित्तीय संस्थाहरूमा साइबर सुरक्षाको सुदृढीकरणमा युवाको भूमिका, कृत्रिम बुद्धिमत्ता र युवालाई लक्षित साइबर आक्रमण’ सम्बन्धी विषयमा प्रशिक्षण दिएका थिए ।

कार्यक्रमको सञ्चालन एफआईयूएन राष्ट्रिय समितिका महासचिव विकास श्रेष्ठले गरेका थिए ।