मिथिला लघुवित्तको खुद नाफामा वृद्धि, ईपीएस ३७.५८ रुपैयाँमा पुग्यो
वि.सं.२०८२ साउन २२ बिहीवार ११:०२
shares

काठमाडौं, २२ साउन । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षमा ८ करोड ४१ लाख खुद नाफा कमाएको छ । उक्त नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ७७ प्रतिशत बढि हो ।
गत वर्षको चौथो त्रैमाससम्म ४ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । खुद नाफाको यो वृद्धिसँगै कम्पनीको प्रतिशेयर आम्दानी २४.२६ रुपैयाँबाट बढेर ३७.५८ रुपैयाँ पुगेको छ।
कम्पनीको खुद ब्याज आम्दानी अघिल्लो वर्षको १४ करोड ७४ लाख रुपैयाँबाट ४१.८६ प्रतिशतले बढ्दै २० करोड ९१ लाख रुपैयाँमा पुगेको छ। त्यस्तै कुल सञ्चालन आम्दानी पनि १८ करोड ८० लाख रुपैयाँबाट बढेर २६ करोड ३९ लाख रुपैयाँमा पुगेको छ। सञ्चालन नाफा ५ करोड ९३ लाख रुपैयाँबाट झण्डै दोब्बर भएर १२ करोड ३३ लाख रुपैयाँ पुगेको छ।
वित्तीय सूचकहरू मजबुत देखिए पनि कम्पनीको खराब कर्जा दरमा भने वृद्धि देखिएको छ। अघिल्लो वर्ष २.१३ प्रतिशत रहेको एनपीएल दर हाल ४.६९ प्रतिशतमा पुगेको छ। यसले जोखिम व्यवस्थापनमा थप सचेत रहनुपर्ने देखिएको छ।
कम्पनीको चुक्ता पूँजी हाल २२ करोड ३९ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २० करोड ४४ लाख रुपैयाँ रहेको जानकारी दिइएको छ। मिथिला लघुवित्तले १ अर्ब ७७ करोड ११ लाख रुपैयाँ सापटी लिएर २ अर्ब ९६ करोड ९१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। कम्पनीले १ अर्ब १८ करोड ७९ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ।
कम्पनीको प्रतिशेयर नेटवर्थ १९१.२९ रुपैयाँ कायम रहेको छ। समग्रमा, कम्पनीले गत आर्थिक वर्षमा वित्तीय रूपमा उल्लेखनीय प्रगति गरेको छ भने लाभांश वितरणको सम्भावना पनि बलियो देखिएको छ।

















