प्रोटोन मलेसिया र जगदम्बा मोटर्सको सहकार्यमा ‘प्रोटोन इमास ७’ को नेपालमा ऐतिहासिक शुभारम्भ
वि.सं.२०८२ भदौ ३ मंगलवार १७:४९
shares

काठमाडौं, ३ भदौ । नेपालको विद्युतीय सवारी क्षेत्रलाई प्रवर्द्धन गर्दै प्रोटोन मलेसिया र जगदम्बा मोटर्सले आपसी सहकार्यलाई थप सशक्त बनाएका छन्। मलेसियामा नै विकास गरिएको प्रोटोन इमास ७ को नेपालमा ऐतिहासिक शुभारम्भमार्फत उनीहरूले विद्युतीय सवारीको दिगो भविष्यप्रति प्रतिबद्धता जनाएका छन्।
नोभेम्बर २०१८ मा सुरु भएको साझेदारीले प्रोटोनको अन्तर्राष्ट्रिय विस्तारमा महत्त्वपूर्ण योगदान दिँदै आएको छ। नेपाललाई रणनीतिक बजारको रूपमा लिइएको यस सहकार्यमा जगदम्बा मोटर्स प्रोटोनका लागि एकमात्र आधिकारिक वितरकका रूपमा सक्रिय रहँदै आएको छ।
प्रोटोन र चिनियाँ कम्पनी गीलीको सहकार्यमा निर्माण गरिएको इमास ७ विश्वस्तरीय प्रविधि र आधुनिक डिजाइनको संयोजन हो। यस मोडलले एसियाली बजारका आवश्यकतालाई ध्यानमा राखेर विकसित गरिएको सन्देश दिन्छ।
काठमाडौंमा आयोजित औपचारिक कार्यक्रममा प्रोटोनका प्रमुख कार्यकारी अधिकृत डा। ली चुनरोङले उद्घाटन गर्दै नेपाली बजारप्रति कम्पनीको दीर्घकालीन रुचि र लगानीको प्रतिबद्धता दोहोर्याए।
कार्यक्रममा प्रोटोन इन्टरनेशनल कर्पोरेशनका प्रमुख कार्यकारी एडमन्ड लिम मेङ थोङले जगदम्बा मोटर्ससँगको सहकार्यले नेपालमा इलेक्ट्रिक सवारीप्रति जनचासो बढाउन सहयोग गर्ने बताए। उनले गीली ब्रान्डका कुनै पनि सवारीहरू नेपालमा आधिकारिक रूपमा विक्री वितरण नभएको स्पष्ट पार्दै प्रोटोन ब्रान्डमा मात्रै केन्द्रित रहेको जानकारी दिए।
१४ वर्षभन्दा बढी अनुभव रहेको जगदम्बा मोटर्सले नेपाली बजारमा प्रोटोनको सफलताका लागि महत्त्वपूर्ण भूमिका खेलेको बताइएको छ। कम्पनीले नेपालभर २०२५ को अन्त्यसम्म १२ वटा शोरूम र सर्भिस सेन्टर सञ्चालन गर्ने लक्ष्य लिएको छ।
सर्भिस सुविधामा असली स्पेयर पार्ट्स, प्रमाणित इञ्जिनियरहरू, प्रविधिसम्पन्न उपकरण र विश्वस्तरीय वारेन्टी तथा ग्राहक सेवा प्रणाली समावेश गरिएको बताइएको छ।
जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले प्रोटोनसँगको सहकार्यलाई केवल व्यावसायिक साझेदारी नभई नेपालको हरित र दिगो यातायाततर्फको साझा यात्रा भन्दै भविष्यमा अझ सशक्त उपस्थिति जनाउने प्रतिबद्धता व्यक्त गरे।
प्रोटोन इमास ७ ले मलेसियामा इभी क्षेत्रको सबैभन्दा बढी बिक्री हुने मोडलको रूपमा कीर्तिमान बनाइसकेको छ। सी सेग्मेन्टको इभी एसयूभीका रूपमा पनि यो मोडल अग्रस्थानमा रहेको छ।
नेपालमा यसको शुभारम्भसँगै कम्पनीहरूले हरित ऊर्जामैत्री सवारी साधनको पहुँचलाई बढाउने, नवप्रवर्तनलाई अघि बढाउने र ग्राहकहरूको विश्वास जित्ने लक्ष्य राखेका छन्।
प्रोटोन र जगदम्बा मोटर्सको सहकार्य नेपाली बजारमा हरित यातायात रूपान्तरणको यात्रामा एक महत्वपूर्ण मोड सावित हुने अपेक्षा गरिएको छ।















