लमजुङ–पोखरा सम्पर्क समिति र अन्नपूर्ण महिला तथा बाल अस्पतालबीच छुट सम्झौता
सहकारी सदस्यलाई उपचारमा २० प्रतिशतसम्म छुट
वि.सं.२०८२ भदौ ३ मंगलवार १६:४८
shares

काठमाडौं, ३ भदौ । लमजुङ–पोखरा सम्पर्क समितिद्वारा सञ्चालित लमजुङ पोखरा बचत तथा ऋण सहकारी संस्था र पोखरा–१२, शिवचोकस्थित अन्नपूर्ण महिला तथा बाल अस्पतालबीच विशेष छुट सम्झौता गरिएको छ।
सम्झौतामा सहकारीका अध्यक्ष बिजली बहादुर गुरुङ र अस्पतालका अध्यक्ष सन्तोष पाण्डेले हस्ताक्षर गरेका हुन्। समितिका अनुसार सम्झौता भदौ १ गतेदेखि लागू भइसकेको छ।
सम्झौता अनुसार, लमजुङ–पोखरा सम्पर्क समिति र यसको सहकारीमा आबद्ध ५१२ जना सदस्यहरूले अन्नपूर्ण महिला तथा बाल अस्पतालमा उपचार गराउँदा २० प्रतिशतसम्म छुट पाउनेछन्। तर, सो छुट समितिको सिफारिसका आधारमा मात्र उपलब्ध हुनेछ।
अस्पतालका अध्यक्ष सन्तोष पाण्डे स्वयं लमजुङ जिल्लाबासी भएकाले आफ्नो जिल्लाका नागरिकलाई जीवनसँग प्रत्यक्ष जोडिएको स्वास्थ्य सेवामा सहयोग पुर्याउने उद्देश्यले यस्तो योजना ल्याएको बताए।
उक्त सम्झौता पाँच वर्षसम्म कायम रहनेछ। अन्नपूर्ण महिला तथा बाल अस्पतालले महिलासँग सम्बन्धित स्वास्थ्य सेवा, बालरोग र अन्य विभिन्न विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ।
सम्पर्क समितिका अध्यक्ष गुरुङले सदस्यहरूको हितलाई केन्द्रमा राख्दै स्वास्थ्य उपचारमा राहत दिने उद्देश्यले सम्झौता गरिएको बताए।















