Dhulikhel Eco Banner new

भुजुङ्ग हाइड्रोपावरको आईपीओ बिक्री खुला

4.13K
shares

काठमाडौं, ३ पुस । भुजुङ्ग हाइड्रोपावर लिमिटेडले पुस ३ गतेदेखि आईपीओ निष्कासन गरेको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गरेको हो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल २० लाख कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। जसमध्ये १० लाख कित्ता आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि र १ लाख कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम अनुमति लिएर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ।

आयोजना प्रभावित क्षेत्रका लागि छुट्याइएको आईपीओमध्ये ६ लाख कित्ता लमजुङको क्व्होलासोथार गाउँपालिका वडा नम्बर ४ का प्रत्यक्ष प्रभावित बासिन्दाले आवेदन दिन सक्नेछन् भने बाँकी ४ लाख कित्ता सोही गाउँपालिकाका वडा नम्बर १, २, ३, ५, ६, ७, ८ र ९ का अप्रत्यक्ष प्रभावित बासिन्दाका लागि छुट्याइएको छ।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आईपीओ निष्कासन छिटोमा पुस १७ गते र ढिलोमा माघ २ गतेसम्म खुला रहनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छिटोमा पुस ७ गते र ढिलोमा पुस १७ गतेसम्म आवेदन दिन सकिनेछ।

कम्पनीले गराएको रेटिङमा इक्रा नेपालले ‘इक्राएनपी इस्यूअर रेटिङ सिंगल बी प्लस’ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ।

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ। आयोजना प्रभावित स्थानीय बासिन्दाले क्व्होलासोथार गाउँपालिका वडा नम्बर ४ को कार्यालय, गाउँपालिकाको कार्यालय, कुमारी बैंक, सानिमा बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंकको बेसिशहर शाखा तथा भुजुङ्ग हाइड्रोपावरको सामाखुशीस्थित रजिस्टर्ड कार्यालयबाट आवेदन दिन सक्नेछन्।

त्यसैगरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू मार्फत सि–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।