Dhulikhel Eco Banner new

मुक्तिनाथ कृषि कम्पनीको हकप्रद शेयर निष्काशन गर्दै, बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल

3.52K
shares

 

काठमाडौं, ६ पुस । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशनका लागि नेपाल लाइफ क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

कम्पनीले हाल कायम चुक्ता पूँजी रु. ७५ करोड ६० लाख बराबरको प्रति शेयर रु। १०० अंकित दरका ७५ लाख ६० हजार कित्ता साधारण शेयरको १ः०.६ अनुपातमा (अर्थात विद्यमान १ कित्ता शेयर बराबर नयाँ ०.६ कित्ता) रु। ४५ करोड ३६ लाख बराबरको ४५ लाख ३६ हजार कित्ता हकप्रद साधारण शेयर निष्काशन गर्न लागेको हो।

यस सम्बन्धी सम्झौता पुस ३ गते बिहीबार कम्पनीको बसुन्धारा, काठमाडौंस्थित कार्यालयमा सम्पन्न कार्यक्रममा हस्ताक्षर भएको हो। सम्झौतामा मुक्तिनाथ कृषि कम्पनी लिमिटेडका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत रामशरण तिमल्सिना तथा नेपाल लाइफ क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष घिमिरेले हस्ताक्षर गरेका हुन्।

मुक्तिनाथ कृषि कम्पनी लिमिटेड नेपालको कृषि क्षेत्रको व्यवसायिक विकासमा क्रियाशील अग्रणी कम्पनी हो। कम्पनीले कृषक र उपभोक्तालाई जोड्ने संस्थागत मूल्य श्रृंखला व्यवस्थापकको रूपमा कार्य गर्दै आएको छ। कृषकहरूका लागि आवश्यक उत्पादन सामग्रीको उपलब्धता, परामर्श सेवा, प्रविधि प्रसार, प्रशोधन उद्योगको विकास तथा उपभोक्तालाई स्वस्थ, गुणस्तरीय र पोषणयुक्त कृषि उत्पादन उपलब्ध गराउने व्यवसाय कम्पनीले सञ्चालन गर्दै आएको छ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सहायक कम्पनी नेपाल लाइफ क्यापिटल लिमिटेड धितोपत्र बोर्डबाट इजाजत प्राप्त मर्चेन्ट बैंकिङ संस्था हो। क्यापिटलले लगानी व्यवस्थापन, धितोपत्र प्रत्याभूति, निक्षेप सदस्य सेवा, योजना व्यवस्थापन, डिपोजिटरी सेवा, संस्थागत परामर्श, शेयर रजिष्ट्रेशन तथा निष्काशन तथा बिक्री प्रबन्धन सेवा प्रदान गर्दै आएको छ।