Dhulikhel Eco Banner new

११ भन्सार कार्यालयबाट निर्यात शुन्य, भरी कन्टेनर आउँदा खाली जान्छन्

5.37K
shares

काठमाडौं, १७ असोज । देशमा व्यापार घाटा वर्षेनि जस्तो बढ्दै गएको सरकारी तथ्यांक रहेको छ । नेपालबाट विदेशमा जाने सामान न्यून मात्र रहेको र विदेशबाट आयात हुने सामनको परिणाम निकै धेरै रहेको सरकारी तथ्यांकले देखाएको छ ।

देशमा सञ्चालनमा रहेका भन्सार कार्यालयमध्ये करिब आधा भन्सार कार्यालयबाट सामान नेपाल भित्रिन्छ र ति भन्सार कार्यालयबाट विदेश भने खाली कन्टेनर मात्रै जाने गरेको सरकारी तथ्यांकले देखाएको छ । जसरी नेपालका हिमाली र पहाडी क्षेत्रमा खाद्यान्न लिएर तराइबाट जाने सवारी खाली आउँछन् त्यसैगरी नेपालमा टनका टन सामान बोकेर आउने कन्टेनर खाली जानु पर्ने बाध्यता रहेको छ ।

यस्तो अवस्था आउनुको मुख्य कारण हो उत्पादन शुन्य । नेपालले विदेश पठाउने र हिमाली तथा पहाडी जिल्लाले तराइ पठाउने वस्तुको उत्पादन गर्न नसक्नु नै नेपालको व्यापार घाटाको मुख्य कारण हो । देशभर सञ्चालनमा रहेका २६ वटा भन्सार कार्यालय छन् । ती कार्यालयबाट अर्बौ मूल्यका विभिन्न सामानहरु आयत भइरहेका छन् । तर अधिकांश भन्सार कार्यालयबाट निर्यात भने शुन्य रहेको पाइएको छ ।

भन्सार विभागको तथ्याङ्अनुसार चालु आर्थिक वर्षको २ महिनाको अवधिमा अधिकांश भन्सार कार्यालयबाट आयात भएको छ तर निर्यात भएको छैन् । २६ वटामध्ये ११ वटा भन्सार कार्यालयबाट बस्तु निर्यात हुन नसकेको विभागको तथ्यांकले देखाएको छ । चालू आर्थिक वर्षको दुई महिनामा कुनै पनि वस्तु निर्यात नहुने भन्सार कार्यालयमा रसुवा, तातोपानी, सुनसरी, गौर, जनकपुर, महेश्वर, सती, भद्रपुर, सिराहा, ठाडी र राजविराज भन्सार कार्यालय रहेका छन् । यी कार्यालयबाट कुनै पनि बस्तुको निर्यात नभएको विभागको तथ्यांकमा देखिएको छ । निर्यात नभएका ति भन्सार कार्यालयबाट आयात भने अर्बौको भएको छ ।

नेपालले २ महिनाको अवधिमा रसुवा भन्सार कार्यालयबाट ३ अर्ब ११ करोयड ९ लाख रुपैयाँको, तातोपानीबाट १ अर्ब ४६ करोड ३८ लाख रुपैयाँको, सुनसरीबाट १ अर्ब ३४ करोड ७१ लाख रुपैयाँको, गौरबाट १५ करोड ३५ लाख रुपैयाँको, जनकपुरबाट ९ करोड ६७ लाख रुपैयाँको, महेश्वरबाट ५ करोड ८५ लाख रुपैयाँको, सतीबाट २ करोड ९८ करोड रुपैयाँको, भद्रपुरबाट २ करोड २६ लाख रुपैयाँको, सिराहाबाट १ करोड ६५ लाख रुपैयाँको, ठाडीबाट १ अर्ब ५५ करोड रुपैयाँ र राजविराजबाट ५४ लाख रुपैयाँको वस्तु आयात गरेको छ ।

यी भन्सार कार्यालयमात्रै होइन अरु कार्यालयबाट पनि निर्यात निकै कम मात्रामा हुने गरेको छ । गत आर्थिक वर्षमा नेपालबाट जम्मा २ खर्ब रुपैयाँ बराबरको सामान निर्यात भएको थियो । तर आयात भने १९ खर्ब बढीको भएको थियो । त्यस्तै, चालु आर्थिक वर्षको २ महिनाको अवधिमा नेपालले पोने ३ खर्बको आयात गर्दा २८ अर्बको मात्रै निर्यात गरेको छ ।

नेपालले चालू आर्थिक वर्षको दुई महिनाको अवधिमा सबैभन्दा बढी विराटनगर भन्सार कार्यालयबाट निर्यात गरेको तथ्यांकले देखाएको छ । यो भन्सार कार्यालयबाट दुई महिनाको अवधिमा समग्र निर्यातको ३१ प्रतिशत निर्यात भएको देखिन्छ । विराटनगरबाट दुई महिनामा ८ अर्ब ८७ करोड ६४ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको विभागको तथ्यांकले देखाएको छ । यो अवधिमा यो भन्सार कार्यालयबाट ३३ अर्ब ९२ करोड ५७ लाख रुपैयाँको वस्तु आयात भएको देखिन्छ ।

दुई महिनाको अवधिमा विराटनगरपछि विरगञ्ज भन्सारबाट सबैभन्दा बढी वस्तु निर्यात भएको देखिएको छ । विरगन्ज भन्सारबाट ७ अर्ब ४७ करोड ४६ लाख रुपैयाँको वस्तु निर्यात भएको छ । आयात भने ९९ अर्ब ९१ करोड ८० लाख रुपैयाँको भएको देखिन्छ । त्यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ अर्ब ७० करोड ७३ लाख ८७ हजार रुपैयाँको निर्यात गर्दा २६ अर्ब ६९ करोड ७० लाख रुपैयाँको आयात भएको छ ।

मेचीनगर भन्सार कार्यालयबाट ३ अर्ब १ करोड ४३ लाख ३० हजार रुपैयाँको निर्यात गर्दा ८ अर्ब ६४ करोड ११ लाख ३९ हजार रुपैयाँको आयात, भैरहवाबाट १ अर्ब ४ करोड ७६ लाख ९५ हजार रुपैयाँको निर्यात गर्दा ४० अर्ब ५४ करोड ४३ लाख रुपैयाँको आयात भएको छ । त्यसैगरी, ड्राईपोर्टबाट ७१ करोड ६१ लाख रुपैयाँको निर्यात गर्दा ३५ अर्ब ९१ करोड ११ लाख रुपैयाँको आयात, नेपालगञ्जबाट २६ करोड ८५ लाख ५३ हजार रुपैयाँको निर्यात हुदाँ ११ अर्ब २ करोड ६० लाख रुपैयाँको आयात, कैलालीबाट २२ करोड ८१ लाख रुपैयाँको निर्यात हुँदा ३ अर्ब ७९ करोष्ड ३५ लाख रुपैयाँको आयात र जलेश्वरबाट १५ करोड ४० लाख २८ हजार रुपैयाँको निर्यात हुँदा १ अर्ब ४२ करोड १२ लाख रुपैयाँको वस्तु आयात गरेको छ ।

यो अवधिमा कृष्णनगर कार्यालयबाट १४ करोड ७८ लाख ७७ हजार रुपैयाँको निर्यात हुँदा ४ अर्ब २७ करोड ९९ लाख रुपैयाँको आयात, सुठौलीबाट २ करोड ८८ लाख ८० हजार रुपैयाँको निर्यात हुँदा ४४ करोड ८६ लाख रुपैयाँको आयात, सर्लाहीबाट ६६ लाख ३८ हजार रुपैयाँको निर्यात गर्दा ६ करोड ७८ लाख रुपैयाँको आयात, कन्चनपुरबाट ३६ लाख ५३ रुपैयाँको निर्यात गर्दा २४ करोड १० लाख रुपैयाँको आयात, चोभारबाट ३३ लाख रुपैयाँको निर्यात गर्दा ६ करोड ७८ लाख रुपैयाँको आयातबाट र गौतम बुद्ध एयरपोर्टबाट २८ लाख ३४ हजार रुपैयाँको निर्यात गर्दा २६ लाख ८१ हजारको आयात गरेको छ ।