Dhulikhel Eco Banner new

मौद्रिक नीतिको समीक्षाले केही राहत होला तर चामत्कारिक परिवर्तन हुन्न : नाडा अध्यक्ष थापा

3.85K
shares

काठमाडौं, १२ मंसिर । मौद्रिक नीतिको समीक्षाले पनि आम रुपमा व्यवसायीलाई खासै परिवर्तन गर्न नसक्ने नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुर्व थापाले बताएका छन् । केटिएम भ्वाइससँगको कुराकानीका क्रममा अध्यक्ष थापाले राष्ट्र बैंकले नीतिमा केही संसोधन गरेर परिमार्जन गर्दा केही राहत मिले जस्तो देखिए पनि व्यवसायका लागि खासै सहयोग नपुग्ने बताएका हुन् ।

‘स्प्रेडदर घटाउँदा ब्याजदरमा केही राहत त होला तर जुन मात्रामा हुनु पर्ने हो त्यो हुन सक्दैन्’ उनले भने । तर राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा कर्जा र निक्षेपबीचको अन्तर (स्प्रेडदर) लाई घटाएको छ । यसबाट बैंकको ब्याजदर घट्ने केन्द्रीय बैंकको विश्वास छ ।

पहिलो त्रैमासिकमा चालु पुँजी कोषका विषयमा राष्ट्र बैंकले केही पनि नबोलेको अध्यक्ष थापाको भनाइ छ । ‘व्यवसायीलाई ब्याजदरका साथै चालु पुँजी कोषले पनि समस्या पारेको अवस्था हो । यो विषयमा राष्ट्र बैंक केही बोलेको छैन्,’ उनले भने । चालु पुँजी कोषका विषयमा कमिटी गठन गरिएको छ । त्यसले दिने सुझाबबाट थप परिमार्जन होला भन्ने आसामा व्यवसायी रहेको उनको भनाइ छ । व्यवसायीले भनेजस्तो नभए पनि केही मात्रामा भने राहत हुने अपेक्षा गर्न सकिने उनले बताए ।

पछिल्लो समय व्यवसायी पलायन हुने अवस्था आएको भन्दै अध्यक्ष थापाले व्यवसायीलाई सम्मालिन अझै पनि गारो हुने बताए । देशको आर्थिक अवस्था नै जर्जरपूर्ण रहेको समयमा सामान्य परिमार्जनले कुनै असर गर्न नसक्ने उनको तर्क थियो ।

व्यवसायीलाई ब्याजको आंतक त छदै छ । त्योभन्दा पनि सरकारले लिएका नीतिहरुका कारण पनि समस्या भएको उनको भनाइ छ । ‘१०० प्रतिशत मार्जिन राखेर काम गर्न व्यवसायीले सक्दैनन् । यसमा परिमार्जनको आवश्यकता रहेको छ,’ उनले भने ।