GBIME

चीन तर्फका नाका खुलाउन पहल गर्छु : प्रधानमन्त्री प्रचण्ड

1.18K
shares

काठमाडौं, ५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनसँगका नाका खोल्ने विषयमा पहल गर्ने बताएका छन् । बिहीबार प्रधानमन्त्रीलाई भेटन गएको नेपाल चीन उद्योग वाणिज्य संघको प्रतिनिधि मण्डलसँगको छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले नाका सहज बनाउने विषयमा पहल गर्ने बताएका हुन् ।

कोभिड महामारीपछि चीनले वाह्य मुलुकसँगको सिधा उडान र व्यापारिक सम्बन्ध सुचारु गरिसकेको भन्दै नेपाल पनि लाभ लिन सक्ने वातावरण निमार्णका आफूले पहल गर्ने आश्वासन दिएका हुन् । प्रधानमन्त्री प्रचण्डले कोभिडयता कमजोर बन्दै गइरहेको चीनसँगको आर्थिक तथा व्यापारिक सम्बन्धलाई पुनस्र्थापित गर्नका लागि सरकार प्रतिबद्ध गरेको बताए ।

चीनबाट नेपालमा अधिक संख्यामा पर्यटक भित्र्याउने तथा लगानी र व्यापारिक सम्बन्ध समेत विस्तार सरकारको प्राथमिकतामा रहेको प्रधानमन्त्रीको भनाइ थियो । भेटका क्रममा नेपाल चीन उद्योग वाणिज्य संघका अध्यक्ष त्रिभुवनधर तुलाधरले नेपाल र चीनबीचको आर्थिक सम्बन्ध विस्तार गर्नुपर्ने तथा यसका लागि सरकारले पहल गर्नुपर्ने विषयमा सुझाव दिएका थिए । संघका अध्यक्ष तुलाधरले चीनसँगको स्थल नाका पूर्ण क्षमतामा सञ्चालनमा ल्याइनुपर्ने तथा वस्तु आयातसँगै पर्यटकका लागि पनि नाका खुला गर्ने सम्बन्धमा सरकारले चिनियाँ पक्षलाई सहमत गराउनका लागि काम गर्नु पर्ने बताएका थिए ।

द्विपक्षीय व्यापार अभिवृद्धिमा भुक्तानीको समस्या भइरहेका कारण नेपालमा चीनियाँ बैंकको शाखा स्थापना गर्नुपर्ने पनि बताए । जसबाट व्यापार र लगानी वृद्धिमा सहयोग पुग्ने अध्यक्ष तुलाधरको भनाइ थियो । चीनियाँ नागरिक नेपाल भ्रमण गर्न इच्छुक भए पनि पर्याप्त संख्यामा हवाई उडान नभएकाले चीनका विभिन्न सहरबाट काठमाडौं, पोखरा र भैरहवा विमानस्थलमा उडानको व्यवस्था गर्न पनि संघले माग गरेको छ ।

यस्तै, चीनमा बढ्दो बुद्धमार्गीहरुको संख्यालाई लक्षित गरी लुम्बिनी भ्रमणका निमित्त सहजीकरणका कार्यक्रम ल्याउन तथा चीनियाँहरुको भ्रमण गन्तव्यका रुपमा नेपाललाई अघि सार्न सरकारले कार्यक्रम ल्याउनु पर्ने संघको माग छ । भेटमा संघका अध्यक्ष तुलाधरसहित निवर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठ तथा कार्यकारी समितिका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।