GBIME

कुमारी बैंकको २६ करोड २२ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत

912
shares

काठमाडौं, ५ माघ । कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) को मर्जरपछि कायम शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बिहिबार सूचीकृत भएको छ ।

मर्जरपछि कायम कुल २६ करोड २२ लाख ५८ हजार ६१३ दशमलव ५७ कित्ता शेयर बिहीवार कुमारी बैंकको नाममा नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेमा सूचीकृत गर्नुअघि बैंकले सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) मा माघ ४ गते नै दर्ता गराइसकेको छ ।

साविक कुमारी बैंकको १४ करोड ७१ लाख ११ हजार ८३२ दशमलव ५७ कित्ता र साविक एनसीसी बैंकको ११ करोड ५१ लाख ४६ हजार ७८१ कित्ता शेयर नेप्सेमा कारोबारयोग्य भएको छ ।

कुमारी बैंक र एनसीसी बैंक मर्ज भई कुमारी बैंकको नामबाट गत पुस १७ गतेदेखि एकीकृत कारोबार शुरू भएको छ । एक बराबर एक शेयर आदानप्रदान गर्दै मर्ज भएका यी दुई बैंकका शेयरधनीहरूले आगामी कारोबार दिनदेखि कुमारी बैंकको नामबाट शेयर कारोबार गर्न सक्नेछन् ।

सीडीएससीले मर्जरपछि कायम शेयर स्वाप रेसियोका आधारमा सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा शेयर जम्मा हुने व्यवस्था मिलाइसकेको छ । एकीकृत कारोबारका दिनदेखि रोक्का रहेको दुवै बैंकको शेयर कारोबार फुकुवा गर्ने निर्णय पनि नेप्सेले गरेको छ ।

पछिल्लो समय जारी मर्जर तथा प्राप्तिसम्बन्धी निर्देशिकामा एकीकृत कारोबार गरेको बढीमा १५ कारोबार दिनमात्र शेयर कारोबार रोक्का हुने व्यवस्था छ । यो बैंक निर्देशिकामा भएको व्यवस्थाबमोजिम नै बढीमा १५ दिनभित्र रोक्का रहेको शेयर कारोबार फुकुवा गर्न सफल भएको छ ।

गत असोज १० गते मर्जरसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका यी बैंकहरूको तीन महीना पूरा हुँदा मर्जर प्रक्रिया सम्पन्न गरी एकीकृत कारोबार शुरू भएको हो ।