Dhulikhel Eco Banner new

काठमाडौँ महानगरको आयमा करिब ७१ प्रतिशतको प्रगति

3.61K
shares

काठमाडौं, ३ जेठ । काठमाडौँ महानगरपालिकाले चालू आर्थिक बर्षको वैशाख मसान्तसम्ममा आयमा करिब ७१ प्रतिशतको प्रगति गरेको छ । महानगरपालिकाले चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म ७०.९६ प्रतिशत प्रगति गरेको हो ।

महानगरपालिकाले यो अवधिमा ७ अर्ब ३९ करोड ४० लाख ११ हजार ७१८ रुपैयाँ राजस्व संकलन गरेको छ । यस बर्षका लागि १० अर्व ४१ करोड ९५ लाख ४९ लाख रुपैयाँ राजस्व संकलन लक्ष्य लिएको थियो । संकलित राजस्वमा आन्तरिक आयतर्फ ९०.४५ प्रतिशत, बाँडफाँडबाट प्राप्त हुने रकममा ३३.५० प्रतिशत र अनुदानतर्फ ८६.४५ प्रतिशत प्रगति प्राप्त भएको छ ।

गत वर्ष यी शीर्षकमा क्रमशः ७९.७० प्रतिशत, २९.६१ प्रतिशत र ५३.०३ प्रतिशत प्रगति भएको थियो । राजस्व अनुमान ९ अर्व ८ करोड ७० लाख १३ हजार थियो भने संकलित रकम ५ अर्ब ३७ करोड २३ लाख ६ हजार ५६९ रुपैयाँ थियो । यो लक्ष्यको ५९.१२ प्रतिशत हो ।

महानगरको आन्तरिक आयमा सम्पत्ति बहाल तथा पट्टा वापतको आयमा लाग्ने कर, सम्पत्ति कर, भूमि कर÷मातपोत कर, सवारी कर (साना सवारी साधन), अन्य व्यक्तिगत आन्तरिक अनुदान (जनसहभागिता÷लागत सहभागिता÷सामाजिक उत्तरदायित्व अन्तर्गतका काममा जम्मा हुने रकम), घरबहाल कर, वित्तिय निकायबाट प्राप्त हुने व्याजलगायत शीर्षक छन् ।

त्यस्तै पर्यटन शुल्क, अन्य विक्रीबाट प्राप्त रकम, सेवा शुल्क, न्यायिक दस्तुर, शिक्षा क्षेत्रको आम्दानी, परीक्षा शुल्क, प्रशासनिक सेवा शुल्क, पार्किङ शुल्क, नक्सा पास दस्तुर, शिफारिस शुल्क, व्यक्तिगत घटना दर्ता, नाता प्रमाणित दस्तुर, व्यवसाय रजिष्ट्रेसन दस्तुर, प्रशासनिक दण्ड जरिवाना र जफत, धरौटी सदरस्याहा, बेरुजुलगायत शीर्षक छन् । यी शीर्षकहरुमध्ये सबैभन्दा धेरै प्रगति पर्यटन शुल्कमा भएको छ । यो शिर्षकमा ७ करोड रुपैयाँ अनुमान गरिएकोमा ८ करोड ७१ लाख ८७ हजार ५० रुपैयाँ संकलन भएको छ । यो लक्ष्यको १२४.५५ प्रतिशत हो । यस्तै पार्किङ्क शुल्कमा १२४.०४, नक्सापास दस्तुरमा ११२.१८ प्रतिशत, सम्पत्ति बहाल तथा पट्टा वापतको आयमा १११.२८ प्रतिशत आय भएको छ ।

बाँडफाँडबाट प्राप्त हुने आम्दानीको सबैभन्दा धेरै आय अपेक्षा गरिएको शीर्षक घरजग्गा रजिष्ट्रेसन दस्तुर हो । यो शीर्षकमा २२ प्रतिशत मात्र प्रगति भएको छ । यो शीर्षकबाट चालु आर्थिक बर्षमा २ अर्व ५० करोड रुपैयाँ लक्ष्य राखिएको थियो । राजस्व विभागका प्रमुख ध्रुवकुमार काफ्लेका अनुसार घरजग्गाको कारोवार कमजोर भएपछि यसको असर राजस्वमा पनि परेको छ । सवारी साधन कर (साना), वित्तिय निकायबाट प्राप्त हुने व्याज र परीक्षा शुल्कमा शुन्य प्रतिशत प्रगति छ । यस्तै बाँडफाँड भइ प्राप्त हुने अन्त शुल्कमा पनि शुन्य प्रतिशत प्रगति छ ।

यी शीर्षकमा शुन्य प्रगति हुनुको कारणका रिक्सा ठेला साना सवारी साधन शीर्षकमा पर्छन् । यिनीहरु असारमा नविकरण हुन आउने भएकोले अहिले आम्दानी नदेखिएको उनको भनाइ छ । उनका अनुसार बैंकमा जम्मा भएको रकमको व्याज बैंकबाट खातामा जम्मा भएको छैन । यसकारण प्रगति नदेखिएको हो । परीक्षा दस्तुर शिक्षा क्षेत्रको आयमा राखिएकोले परीक्षा शुल्कमा प्रगति नदिएको उनको भनाइ छ ।

आन्तरिक अनुदानमा समानीकरण, सशर्त अनुदान चालु सशर्त अनुदान पुँजीगत शीर्षकमा रकम प्राप्त हुन्छ । यी शीर्षकमा क्रमशः ७५ प्रतिशत, ८६.०४ प्रतिशत र ५०८.४५ प्रतिशत प्रगति छ । अनुदान पुँजीगतमा २ करोड ४१ लाख रुपैयाँ लक्ष्य राखिएकोमा १२ करोड २५ लाख ३२ हजार ९९५ रुपैयाँ प्राप्त भएको छ ।