भदौमा पनि उठेन लक्ष्यअनुसार राजस्व
वि.सं.२०८१ असोज १ मंगलवार १५:१५
shares

काठमाडौं, १ असोज । चालु आर्थिक वर्षको २ महिनामा सरकारले १ खर्ब ६९ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । सरकारले लक्ष्यको झन्डै १२ प्रतिशत राजस्व उठाएको हो ।
भदौसम्म संकलित राजस्वमध्ये कर राजस्व १ खर्ब ४५ अर्ब १९ करोड रुपैयाँ उठेको छ । यो लक्ष्यको ११.३१ प्रतिशत हो । यस अवधिमा २१ अर्ब १९ करोड गैरकर राजस्व उठेको छ । यो लक्ष्यको १५.६९ प्रतिशत हो । यस अवधिमा अनुदान र अन्य आम्दानी हुन नसकेको महालेखाको विवरणमा देखिन्छ ।
सरकारले दुई महिनामा १ खर्ब ३७ अर्ब ५५ करोड रुपैयाँ भुक्तानी गरेको देखिन्छ । यो कुल बजेटको ७.३९ प्रतिशत हो । यस वर्ष सरकारले १८ खर्ब ६० अर्ब रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ । भदौ सम्म चालु खर्च ८२ अर्ब ९८ करोड रुपैयाँ भएको छ । भदौसम्म पूँजीगत खर्च १४ अर्ब ८९ करोड रुपैयाँ भएको छ ।
यस वर्ष सरकारले ३ खर्ब ५२ अर्ब रुपैयाँ पूँजीगत खर्च गर्ने लक्ष्य राखेको छ । वित्तीय व्यवस्थामा भदौसम्म ३९८ अर्ब ६७ करोड रुपैयाँ खर्च भइसकेको छ । यो लक्ष्यको १०.८ प्रतिशत खर्च भएको देखिन्छ ।















