नेपाली रुपैयाँ हालसम्मकै कमजोर
वि.सं.२०७९ जेठ २६ बिहीवार १०:३९
shares

काठमाडौं, २६ जेठ । नेपाली रुपैयाँ हालसम्मकै कमजोर बनेको छ । नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।
बिहीबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको विनिमय दर १२४.६८ रुपैयाँ तोकेको हो । यो नयाँ रेकर्ड हो । यसअघि गत जेठ ६ मा अमेरिकि डलरको मूल्य १२४.६७ रुपैयाँ पुगेको थियो । करिब तीन सातामा डलरको भाउमा सामान्य कमी भएकोमा पछिल्ला दिनमा लगातार बढिरहेको छ । सोही क्रममा बिहीबार नयाँ उचाइमा पुगेको हो ।
अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेका कारण अमेरिकी डलरको भाउमा बृद्धि भएको हो । कच्चा तेलको मूल्य बढेसँगै अन्र्तराष्ट्रिय बजारमा डलरको माग बढ्ने भएकोले डलरको मूल्य बढ्न बताइएको छ । रुस र युक्रेन युद्धको असरको कारण भारतीय मुद्रा कमजोर भइरहेको छ । भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुनेगर्छ । नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहेकाले पनि केही समयता डलरको तुलनामा भारु खस्किँदा नेपाली रुपैयाँको मूल्यसमेत कमजोर हुँदै गएको हो।
नेपाल जस्तो आयातमुखी अर्थतन्त्र भएको देशलाई डलरको मूल्य बढ्दा नकारात्मक असर पर्ने अर्थविदहरुले बताएका छन् । केही मात्रामा विदेशमा रहेकाहरुले पठाउने रकमले धेरै हुने भए पनि त्यो सबै पैसा आयात गर्नमै खर्च हुने अर्थविदहरुको भनाई छ । डलर महङ्गिँदा वैदेशिक ऋणको लागत बढ्नुका साथै निर्यात महँगो पर्न जान्छ । डलर बढ्दा विदेशी ऋणको सावाँ र ब्याज तिर्न भनी बजेटमा छुट्ट्याएको रकम अपुग हुन जान्छ ।


















