प्रतिनिधिसभा सदस्यहरुको शपथ ग्रहण आज
वि.सं.२०७९ पुस ७ बिहीवार १०:०८
shares

काठमाडौं, ७ पुस । नवनिर्वाचित प्रतिनिधि सभाका सदस्यहरुले आज शपथ लिने भएका छन् । मंसिर ४ गते भएको चुनावबाट निर्वाचीत भएका र समानुपातिकबाट सांसद बनेकाहरुलाई बिहीबार दिउसो १ बजे प्रतिनिधि सभाका जेष्ठ सदस्य पशुपति शमशेर जबराले शपथ खुवाउने भएका हुन् ।
जबराले बुधबार नै राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनियताको शपथ लिएका थिए । शपथ ग्रहणलगत्तै आजै सांसदहरुलाई लोगो प्रदान गर्ने र उनीहरुको सम्मानमा चियापान कार्यक्रम आयोजना गरिने संघीय संसद सचिवालयले जनाएको छ । प्रतिनिधि सभाका २७५ जना सदस्यमध्ये २६ जनाले मातृभापामा शपथ लिने संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिए ।
नेपाली बाहेकका भाषामा शपथ लिन चाहनेहरुका लागि बिहीबार बिहान ११ बजेसम्म निवेदन दिन भनिएको छ । बुधबार बेलुकीसम्म २६ जना सांसदले निवेदन दिएको प्रवक्ता पाण्डेले जानकारी दिए । निवेदन दिनेहरुले हिन्दीदेखि संस्कृतसम्मका भाषामा शपथ लिन चाहेको उल्लेख गरेका छन् । नेकपा माओवादी केन्द्रका ७, राष्ट्रिय स्वतन्त्र पार्टीका ५, जनमत पार्टीका ४, जसपा, नागरिक उन्मुक्ति पार्टीका ३÷३, स्वतन्त्र २ र कांग्रेस तथा नेकपा एमालेका एक÷एक सांसदहरुले मातृभाषामा शपथ ग्रहण गर्ने भनेर निवेदन दिएका छन् ।
















