अबको कार्यकाल बेरोजगारी अन्त्यमा लगाउने मेयर दाहालको घोषणा
वि.सं.२०७९ जेठ १० मंगलवार १५:५८
shares

काठमाडौं, १० जेठ । चितवनको भरतपुर महानगरपालिकाकी नव निर्वाचित मेयर रेणु दाहालले महानगरपालिका भित्रको बेरोजगारी अन्त्य गर्ने बताएकी छिन् । उनले अबको कार्यकालमा महानगरपालिका भित्र रहेको बेरोजगारी अन्त्यमा केन्द्रित रहेने बताएकी हुन् ।
भरतपुर महानगरपालिकाको मेयरमा विजयी भएसँगै मेयर दाहालले अबको पाँच वर्ष आफ्नो लागि अन्तिम कार्यकाल भएकोले अब बेरोजगारी समस्या समाधानका लागि काम गर्ने बताइन् । उनले महानगरपालिका भित्रको शिक्षा, स्वास्थ्य र पूर्वाधारको क्षेत्रमा पनि जोड दिने बताइन् । महानगरपालिकामा बेरोजगार अन्त्य गर्नका लागि रोजगार बैंक स्थापना गर्ने, उद्योग ग्राम स्थापना गर्ने र उद्यमशिलताको विकास गरेर रोजगारी प्रवद्र्धन गर्ने कुरालाई विशेष प्राथमिकतामा राखेको आगाडि बढ्ने बताएकी हुन् । मेयर दाहालले महानगरपालिकाको ढल व्यवस्थापनको लागि गुरुयोजना तयार गरेर काम गर्ने, नारायणी नदीको पुलको पुनर्निर्माणलाई अघि बढाउने पनि उदघोष गरिन् । उनले भरतपुर महानगरपालिकालाई देशकै हेर्न र गर्व गर्न लायक नमूना स्मार्ट सिटिको संकल्प पूरा गर्ने, गौरवका आयोजनाहरु जस्तैः सिटी हल, प्रशासनिक भवन, ५ अर्ब बराबरको नारायणी तटबन्ध, अन्तर्राष्ट्रिय क्रिकेट रङगशाला, महानगरिय रिङ रोडको योजनालाई सम्पन्न गर्ने कुरा पहिलो प्राथमिकतामा राख्ने बताएकी हुन् ।
मेयर दाहालले गत कार्यकालमा बाँकी रहेका कामहरुलाई यो कार्यकालमा पूरा गर्ने लक्ष्य राखेको पनि बताइन् । भरतपुरका बाँकी काम पूरा गरेर जनतालाई निराशा हुन नदिने दाबी उनको छ । मेयर दाहालले सोचेको भन्दा राम्रो मत परिणाम आएकोले जनताको चाहनाअनुसार जनताकै लागि काम गर्ने प्रतिवद्धतासमेत जनाइन् ।
३ हजारदेखि ७ हजारसम्मको मतान्तरले आफू विजयी हुने आश रहेपनि त्यो भन्दा बढी मतान्तरले विजयी हुनु अघिल्लो कार्यकालमा गरेको उपलब्धिको परिणाम भएको उनले सुनाईन् । गत वैशाख ३० गते भएको स्थानीय तह सदस्य निर्वाचनमा भरतपुर महानगरपालिकालाई विशेष चासो र महत्वका साथ हेरिएको थियो । गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) की नेतृृ दाहालले उम्मेदवार बनेकी थिइन भने नेकपा एमालेबाट विजय सुवेदीले उम्मेदवारी दिएका थिए । त्यस्तै नेपाली काँग्रेसका नेता जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
निर्वाचनको मत परिणाम अनुसार दाहालले ५२ हजार ३० मत पाइन भने उनका निकटतम प्रतिष्पर्धी सुवेदीले ३९ हजार ५८१ मत पाए । त्यस्तै स्वतन्त्र उम्मेदवार पौडेलले १४ हजार ७२८ मत प्राप्त गरे । उपमेयरमा पनि गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले ५२ हजार ८०३ मतसहित विजयी भएका छन् ।















