एशियन हाइड्रोपावरको आईपीओ खुल्यो
वि.सं.२०७९ माघ २७ शुक्रवार ०९:४५
shares

काठमाडौं, २७ माघ । एशियन हाइड्रोपावर लिमिटेडले आजदेखि आईपीओ निष्काशन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अहिले सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो ।
कम्पनीले जारी पूँजी ३४ करोड रुपैयाँको २४.७१ प्रतिशतका दरले हुने आउने ८ करोड ४० लाख रपैयाँ बराबरको प्रतिशेयर १०० अंकित मूल्यका ८ लाख ४० हजार कित्ता साधारण शेयरमध्ये ८४ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुमा र ४२ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरी कम्पनीका कर्मचारीहरुको लागि १६ हजार ८०० कित्ता शेयर सुरक्षित गरी बाँकी रहेको ६ लाख ९७ हजार २०० कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गरेको हो ।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। निष्काशन बन्द छिटोमा फागुन २ गते हुनेछ भने ढिलोमा फागुन १२ गते हुनेछ ।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।
कम्पनीले सञ्चालन गरिरहेको ६.२ मेगावाटको तल्लो जोगमाई खोला जलविद्युत आयोजनाले २०७८ कात्तिक १५ गतेदेखि व्यापारिक उत्पादन सुरु गरिसकेको छ। सो आयोजनाको कुल लागत १ अर्ब ३९ करोड १५ लाख ३० हजार रुपैयाँ रहेको छ।
आयोजनाको प्रति मेगावाट लागत २९ करोड १५ लाख ३७ हजार ९७ रुपैयाँ रहेको छ। आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७.०९ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि ११.८३ वर्ष रहेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।



















