शुभम पावरको आईपीओ बाँडफाँट, भाग्यमानी २ जनाले पाए ११ कित्ता
वि.सं.२०७९ माघ २७ शुक्रवार १०:०६
shares

काठमाडौं, २७ माघ । शुभम पावर कम्पनी लिमिटेडले सर्वसाधारणका निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा आज बिहान आईपीओ बाँडफाँट भएको हो ।
क्यापिटलका अनुसार आईपीओमा कुल १२ लाख ७५ हजार ४ सय २१ जनाबाट १ करोड ३८ लाख ४७ हजार ५ सय ७० कित्ताको लागि आवेदन परेको थियो । जस मध्ये ३ हजार ५ सय ८७ जनाको आवेदन रद्द भएको छ ।
माग भन्दा बढीको आवेदन परेकोले योग्य रहेका १२ लाख ७१ हजार ८ सय ३४ जना आवेदकलाई गोलाप्रथामा समावेश गराएर शेयर बाँडफाँट गरिएको छ । जसमा ४८ हजार १ सय ८८ जनाले शेयर पाएका छन् । ति मध्ये २ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकि ४८ हजार १ सय ८६ जनाले १० कित्ताको दरले शेयर पाएका छन् ।
शुभम पावरले माघ १८ देखि माघ २२ गतेसम्म सर्बसाधारणलाई आइपिओ बिक्री खुला गरेको थियो। कम्पनीले २९ हजार ३० कित्ता शेयर सामुहिक लगानी कोषहरुलाई बाँडफाँट गरेर, कर्मचारीलाई ११ हजार ६ सय १० कित्ता छुट्याई बाँकि रहेको ४ लाख ८१ हजार ८ सय ८२ कित्ता शेयर सर्बसाधारणलाई निष्काशन गरेको थियो ।
कम्पनीले यस अघि नै स्थानीय र विदेशमा रहेका नेपाली श्रमिकलाई आईपीओ निष्काशन गरिसकेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई ५ वर्ष अगाडी नै आईपीओ निष्काशन गरिसकेको छ ।



















