अप्पर सोलु हाइड्रोको आईपीओ भर्ने म्याद थप
वि.सं.२०७९ जेठ ५ बिहीवार १०:२३
shares

काठमाडौं, ५ जेठ । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले शेयर आवदेन दिने समय थप गरिएको छ । वैशाख २२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने म्याद थप गरिएको हो । यस अघि वैशाख २२ गतेदेखि जेठ ५ गतेसम्मका लागि आवेदन माग गरिएकोमा माग बामोजिमको आवेदन नआएकाले म्याद थप गरिएको हो ।
म्याद थप गरिएसँगै अब आईपीओ जेठ २० गतेसम्म भर्न पाइने भएको हो । कम्पनीले १३ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका १३ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन गरेको थियो । सो शेयरमा आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको हाल सोलु दुधकुण्ड नगरपालिकाका सम्पूर्ण वडाका बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।
प्रभावित क्षेत्रका स्थानीयले सोलुखुम्बुमा रहेका एनएमबि बैंक, लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंक मार्फत आवेदन दिन सक्नेछन् । साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सक्नेछन् ।















