Dhulikhel Eco Banner new

लू निभाःले मनायो रजत जयन्ती

6.1K
shares

काठमाडौं, २ पुस । लुः निभा बाल सरोकार समुहले शनिवार राष्ट्रिय सभा गृहमा आफ्नो रजत जयन्ती कार्यक्रम सम्पन्न गरेको छ । बाल क्लवबाट शुरु भइ राष्ट्रिय अभियानको नेतृत्व तहसम्म आईपुग्दासम्मको सफलताका अनुभव आदानप्रदानसंगै विविध कार्यक्रम गरेर समूहले रजत जयन्ती कार्यक्रम सम्पन्न गरेकाे हाे ।

खोकनामा शिक्षाको चेतना जगाउने अभिप्रायले गठन गरिएको एउटा बाल क्लव अहिले देशकै पिछडिएका र जोखिम परिस्थितिमा रहेका बालबालिकाका हक र अधिकार संरक्षण र सम्बद्र्धनका लागि उद्यत छ । बालबालिकाका लागि बालबालिकाद्वारा सञ्चालित यस लू निभाः बाल सरोकार समूह आफ्नो बाल क्लव देखि राष्ट्रिय अभियान सम्मको यात्राका वारे सरोकारवालाहरुलाई आदानप्रदान गर्ने प्रमुख उद्देश्यका साथ सो कार्यक्रम सम्पन्न भएको हो ।

लू निभाःले आफ्नो रजत जयन्तीको उपलक्ष्यमा विविध कार्यक्रम सम्पन्न गरिएको छ । नेपाल कै इतिहासमा पहिलो पल्ट मानव अधिकार कर्मीहरु, नागरिक समाजका प्रतिनिधिहरु, शिक्षक तथा बालबालिका एकै ठाउँमा बसेर बालबालिकाका सवालहरुमा नागरिक संवाद सञ्चालन गर्नु आफैमा ऐतिहासिक रहेको छ ।

ऐतिहासिक नगरी खोकनाको एउटा गुठी भवनमा राखी सम्पन्न उक्त कार्यक्रममा बालबालिकाको हक, अधिकारको संरक्षण र विकास को अवस्था आशातीत सुधार ल्याउनका लागि नेपाल सरकार देखि सबै सरोकारवालाहरु अझै जिम्मेवारी ढंगले प्रस्तुत हुनुपर्ने निश्कर्षका साथ कार्यक्रम सम्पन्न भएको थियो । रजत जयन्ती कै उपलक्ष्यमा नेपाल रेडक्रस सोसाइटीसंगको सहकार्यमा रक्तदान कार्यक्रम पनि सम्पन्न गरिएको छ ।

बालबालिकालाई अतिरिक्त विषयका सम्वन्धमा अन्वेषणका लागि प्रेरित गरि सो विषयसंग संलग्नता हासिल गर्न सहयोग गर्ने उद्देश्यका साथ ललितपुर का महाङ्काल गाउपालिका, कोन्ज्योसोम गाउपालिका र गोदावरी नगरपालिकासंगको सहकार्यमा पालिका स्तरीय निबन्ध प्रतियोगिता पनि सञ्चालन गरिएको थियो । प्रतियोगितामा सफल हुने विद्यार्थीहरु गोदावरी नगरपालिकाबाट प्रथम, द्वितीय, तृतिय र सान्त्वनामा क्रमश, कोन्ज्योसोमबाट अमृता श्रेष्ठ, स्वीकृति चौलागाई, आशिष स्याङ्तान र विजय तामाङ र महाङ्काल गाउपालिकाबाट सुजता तिमल्सिना, सुविध्या फुयाल, यसोधा घिमिरे र सर्गम घिमिरे लाई सम्मान गरिएको छ ।

त्यस्तैगरि ललितपुर महानगरपालिकाको वडा नं.१८, २१, २२ र २५ संगको सहकार्यमा चित्रकला प्रतियोगितामा पनि सम्पन्न गरेको थियो । सो प्रतियोगितामा सफल हुने विद्यार्थीहरुमा प्रथम, द्वितीय, तृतिय र सान्त्वना क्रमश ऋतिका सुनुवार, अमिषा कुमारी, देवी थापा र रिश्वम तुलाधरलाई सम्मान गरिएको छ ।

सांस्कृतिक नृत्य, बाल गीत र अपाङ्गता भएका बालबालिकाहरुको प्रस्तुती सहितको समापन कार्यक्रम राष्ट्रिय सभा गृहमा राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रममा विशेष अतिथिका रुपमा वरिष्ठ समाजसेवी राधिका शाक्य र वरिष्ठ हाँस्य कलाकार एवं समाजसेवी मदन कृष्ण श्रेष्ठ उपस्थित िथए ।

समापनमा बोल्दै बरिष्ठ मानव अधिकारकर्मी तथा लू निभाःका प्रमुख सल्लाहकार गौरी प्रधानले नेपालमा बाल अधिकारको अभियान सुसुप्त अवस्थावाट जागरुक अवस्थामा आइसकेको जानकारी गराउँदै हामीले अहिले देश समृद्ध बनाउने अभियानमा लागिरहेको अवस्थामा बालबालिकालाई पनि उत्तिक्कै ध्यान दिनु पर्ने बताए । राज्य सफल हुनु छ भने बालबालिकाका लागि लगानी गर्नु पर्ने अभिव्यक्त गरे । प्रमुख अतिथि सम्माननीय गणेश प्रसाद तिमल्सिनाले समाज रुपान्तरणका लागि बालबालिकामा लगानि बढाउनु पर्ने कुरा औल्याउदै आजका बालबालिका नै भोलि देशको भविष्य भएकोले बालबालिकाको अधिकार संरक्षण र सम्बद्र्धनका लागि राज्य पूर्ण रुपमा जिम्मेवार भएको कुरा व्यक्त गरे ।

सबै खाले बालबालिकाहरुले अहिले पनि आफ्नो अधिकार प्राप्त गर्न नसकिरहेको अवस्था सबै जना उत्तिक्के जिम्मेवार भएर लाग्नु पर्ने पनि बताए । बालबालिकाको अधिकार रक्षाका लागि आवश्यक ऐन कानून बनाउन पनि तत्पर रहेको बताए । कार्यक्रममा ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरीबाबु महर्जन, उप–प्रमुख मन्जली शाक्य, गोदावरी नगरपालिका ललितपुरका नगर प्रमुख गजेन्द्र महर्जन तथा उप–प्रमुख मुना अधिकारी, कोन्ज्योसोम गाउपालिकाका अध्यक्ष कृष्णमान लामा तथा उपाध्यक्ष राजन प्रसाद घिमिरे तथा ती पालिकाहरुका वडा अध्यक्षहरु अतिथिका रुपमा उपस्थिति रहेको थियो ।

कार्यक्रममा उपत्यकाका विद्यालयका प्रअहरु, शिक्षक, बालबालिका तथा शिक्षा क्षेत्रमा काम गर्ने विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैससका प्रमुख तथा प्रतिनिधिहरु, नागरिक समाजका प्रतिनिधिहरु र प्रत्रकारहरु गरि जम्मा ५२५ जनाको सहभागिता रह्यो ।

लू निभाः का कार्यकारी निर्देशक नरेन्द्र डंगोलले लू निभाःको २५ वर्षको उपलब्धी र भावी कार्यदिशाको वारे सार्वजनिक गर्दै कार्यक्रम समापन गरिएको थियो ।