Dhulikhel Eco Banner new

दुई पटकको पूर्व विजेता वेस्टइन्डिज समूह चरणबाट आउट

4.76K
shares

काठमाडौं, ४ कात्तिक । अष्ट्रेलियामा जारी टि–२० विश्वकप क्रिकेटको समूह चरण पार गर्न असफल भयो । क्रिकेटको सबैभन्दा कान्छो स्वरुपको प्रतियोगिताको सबैभन्दा सफल टोली आयरल्याण्डसँग पराजित हुँदै समूह चरणबाट घर फर्कन बाध्य भएको हो ।

वेस्ट इन्डिज २०१२ र २०१६ को टि–२० विश्वकप विजेता यो पटकको विश्वकप सुपर १२ मा सिधै स्थान बनाउन असफल भएको थियो । तर समूहचरण पार गरेर अगाडी बढ्ने आशा लिइएको थियो । तर उसको त्यो आशालाई भने आयरल्याण्डले पुरा हुन दिएन् ।

वेस्टइन्डिज आयरल्याण्डसँग ९ विकेटको फराकिलो अन्तरले पराजित भएको हो । जितका लागि १४७ रनको लक्ष्य पछ्याएको आयरल्याण्डले १७ ओभर ३ बलमा १ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो । आयरल्यान्डको जितमा पउल स्टर्लिङ ४८ बलमा ६ चौका २ छक्का सहित ६६ रनमा अविजित पारी खेले । लोर्कान टर्करले ३५ बलमा २ चौका र २ छक्का सहित ४६ रनमा अविजित रहे ।

पहिलो विकेटका लागि कप्तान एन्ड्रयु बालबिर्नी र पउल स्टर्लिङले ७.३ ओभरमा ७३ रनको साझेदारी गर्दै सानदार सुरुवात दिलाएका थिए । बलबार्नी २३ बलमा ३ चौका र ३ छक्का सहित ३७ रनमा आउट भए ।

त्यसअघि होबार्टमा टस जितेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ४६ रन बनायो । वेस्ट इन्डिजका ब्रेन्डन किंगले ४८ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ६२ रनमा अविजित पारी खेले । ओडेन स्मिथ १९ रनमा अविजित रहे । ओपनर काइल मेयर्स एक र जोहनसन चार्ल्सले २४ रन बनाए । आयरल्यान्डका ग्यारेथ डेलानीले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । सिमि सिंह र ब्यारी म्याकर्थीले एक एक विकेट लिए ।

दोस्रो खेलमा स्कटल्यान्डलाई पराजित गर्दै जिम्बावे पनि सुपर १२ मा पुग्न सफल भएको छ । समूह ए बाट श्रीलंका र नेदरल्यान्ड्सले सुपर १२ मा स्थान बनाइ सकेका छन् ।