न्यूजिल्याण्ड इंग्ल्याण्डसँग पराजित, सेमिफाइनल पुग्ने समिकरण थप रोमान्चक
वि.सं.२०७९ कात्तिक १५ मंगलवार १८:१३
shares

काठमाडौं, १५ कात्तिक । अष्ट्रेलियामा जारी आईसीसी टी–२० विश्व कप क्रिकेटमा इंग्ल्यान्डले न्युजिल्यान्डलाई पराजित गरेको छ । ब्रिसबेनमा भएको खेलमा इंग्ल्याण्डले न्यूजिल्याण्डलाई २० रनले पारजित गरेको हो ।
इंग्ल्याण्डले दिएको १८० रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५९ रनमात्रै बनाउन सक्यो । उसका लागि ग्लेन फिलिप्सले सर्वाधिक ६२ रन बनाए पनि टोलिलाई जित दिलाउन सकेनन् । त्यस्तै कप्तान केन विलियमसनले ४० रनको पारी खेले । न्युजिल्याण्डलाई लक्ष्यमा पुग्नबाट रोक्नका लागि इंग्ल्याण्डका क्रिस वोक्स र साम कुरनले समान २÷२ विकेट लिए । त्यस्तै मार्क उड र बेन स्टोक्सले समान एक एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७९ रन बनाएको थियो । उसका लागि जोस बटलरले सर्वाधिक ७३ र एलेक्स हेल्सले ५२ रनको योगदान दिए । बलिङतर्फ न्युजिल्यान्डका लकी फर्गुसनले २ विकेट लिए । त्यस्तै टिम साउथी, मिचेल स्यान्टनर र ईस सोढीले एक एक विकेट लिए ।
इंग्ल्याण्डको जितसँगै यो समूहबाट सेमिफाइनल समिकरण थप रोमाञ्चक बनेको छ । समूहका रहेका तीन टोलिको समान ५ अंक रहेको छ । त्योसँगै श्रीलंकाको पनि सेमिफाइनल पुग्ने अंक गणितिय सम्भावना रहेको छ । नेटरनरेटमा अघि रहेको इंग्ल्याण्ड र न्युजिल्याण्डको सेमिफाइनल पुग्ने सम्भावना बलियो देखिएको छ । ४ खेलमा ५ अंक सहित इंग्ल्याण्ड तालिकाको दोस्रो स्थानमा रहेको छ । शिर्ष स्थानको न्युजिल्याण्ड र तेस्रो स्थानको अष्ट्रेलियाको पनि समान ५ अंक नै रहेका् छ । श्रीलंकाको ४ अंक रहेको छ ।
इंग्ल्याण्डले समूहको अन्तिम खेलमा श्रीलंकासँग लेल्ने छ । अष्ट्रेलियाले अफगानिस्तानसँग खेल्दा न्युजिल्याण्डले आयरल्याण्डसँग खेल्ने छ । आ–आफ्ना खेलमा सहज जित निकाले नटरनरेटका आधारमा न्युजिल्याण्ड र इंग्ल्याण्ड सेमिफाइनल पुग्ने छन् भने अष्ट्रेलियाले आफ्नो खेलमा फराकिलो जित निकाल्नु पर्ने छ भने अन्य टिमको नतिजा पनि उसको पक्षमा आउनु पर्नेछ ।



















