बैंक खातामा अनधिकृत कारोबार देखिए तत्काल खबर गर्न राष्ट्र बैंकको निर्देशन
वि.सं.२०८२ पुस १५ मंगलवार ११:२२
shares

काठमाडौं, १५ पुस । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा कुनै अनधिकृत कारोबार भएमा छिटो प्रतिक्रिया दिन र सम्बन्धित निकायमा खबर गर्नुपर्ने निर्देशन दिएको छ।
केन्द्रीय बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले जारी गरेको सूचनामा ग्राहकहरूले आफ्नो खाताबाट अनधिकृत कारोबार भए कसरी र कहाँ सम्पर्क गर्ने थाहा पाउनुपर्ने उल्लेख गरिएको छ।
सूचनाअनुसार, “बैंक तथा वित्तीय संस्थाले ग्राहकको समस्या सुन्न र समाधानका लागि टोल–फ्री नम्बर र सहयोगी कर्मचारीको व्यवस्था गरेका हुन्छन्। अनधिकृत कारोबार पत्ता लाग्ने बित्तिकै उक्त नम्बर र ग्राहक संरक्षण टिममा खबर गर्न आवश्यक छ।”
राष्ट्र बैंकले यस कदममार्फत ग्राहकलाई अनधिकृत कारोबारबाट बचाउने र समस्या भएको खण्डमा छिटो समाधान सुनिश्चित गर्ने उद्देश्य राखेको जनाएको छ।


















