Dhulikhel Eco Banner new

हायात प्लेस बुटवलको जनरल म्यानेजरमा तुषार नगर नियुक्त

3.12K
shares

काठमाडौं, २४ पुस । हालै सञ्चालनमा आएको हायात प्लेस बुटवलको नेतृत्व महाप्रबन्धक (जनरल म्यानेजर)को रूपमा हस्पिटालिटी क्षेत्रका अनुभवी तुषार नगरले सम्हाल्ने भएका छन्।

नयाँ जिम्मेवारीमा नगरले होटलको दैनिक सञ्चालन, रणनीतिक विस्तार, वित्तीय व्यवस्थापन तथा सरोकारवालाहरूसँगको समन्वयको नेतृत्व गर्नेछन्। साथै, अतिथि सत्कारमा उच्च गुणस्तर र उत्कृष्ट सेवा संस्कृतिको विकासमा उनले प्रमुख भूमिका निर्वाह गर्ने हायात प्लेस बुटवलले जनाएको छ।

डेढ दशकभन्दा बढी समयदेखि हस्पिटालिटी क्षेत्रमा सक्रिय नगरले भारतका विभिन्न प्रतिष्ठित अन्तर्राष्ट्रिय होटल ब्रान्डहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन्। हायात प्लेस बुटवलमा आउनुअघि उनले जे डब्लु म्यारियट चण्डीगढ, द ओबेरोय अमरभिलास आगरा, पार्क हायात चेन्नई, हायात रिजेन्सी लुधियाना, द वेस्टिन पुणे तथा पछिल्लो समय कोर्टयार्ड बाइ म्यारियट सिलोङमा कार्य गरेको अनुभव बटुलेका छन्।

आफ्नो नियुक्तिबारे प्रतिक्रिया दिँदै नगरले अतिथिहरूले न्यानो स्वागत महसुस गर्ने, कर्मचारीहरूलाई उत्प्रेरित वातावरण प्रदान गर्ने तथा हायातका मूल्य–मान्यताहरू प्रतिबिम्बित हुने संस्कृतिको विकास आफ्नो प्राथमिकता रहेको बताए। बुटवलमा हायात प्लेसको उपस्थितिलाई अझ सुदृढ बनाउँदै अतिथिहरूका लागि अविस्मरणीय अनुभव सिर्जना गर्न आफू उत्साहित रहेको उनको भनाइ छ।

बुटवलको केन्द्रमा अवस्थित हायात प्लेस बुटवल १०९ कोठासहित सञ्चालनमा आएको छ। बुद्ध जन्मस्थल लुम्बिनी र ऐतिहासिक तिलौराकोट नजिकै रहेको यस होटलमा आधुनिक सुविधा, आकर्षक रुफटप पुल, अर्ग्यानिक स्वादमा आधारित डाइनिङ तथा आरामदायी कोठाहरू उपलब्ध छन्। साथै, पदयात्रा तथा स्थानीय बजार अवलोकन गर्न चाहने पाहुनाहरूका लागि पनि यो होटल उपयुक्त गन्तव्य बनेको छ।

शैक्षिक रूपमा नगरले आईएचएम वाराणसीबाट होटल म्यानेजमेन्टमा डिप्लोमा तथा जगतपुर पीजी कलेजबाट कमर्समा स्नातक गरेका छन्। उनले होटल प्रि–ओपनिङ तथा स्थापित दुवै प्रकारका होटलहरूमा काम गरेको अनुभव समेत हासिल गरेका छन्।

नयाँ जिम्मेवारी सम्हाल्न उनी हाल बुटवलमै बसोबास गरिरहेका छन्।