Dhulikhel Eco Banner new

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको नवौँ वार्षिक साधारण सभा सम्पन्न

3.02K
shares

काठमाडौं, २४ पुस । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडको आर्थिक वर्ष २०८१/८२ को नवौँ वार्षिक साधारण सभा बिहीबार काठमाडौंको गोल्फुटारस्थित शुभ इभेन्ट्समा सम्पन्न भएको छ।

कम्पनीका अध्यक्ष रतनलाल केडियाको अध्यक्षतामा सम्पन्न साधारण सभामा अध्यक्षले शेयरधनीहरूलाई स्वागत मन्तव्य दिँदै कम्पनीको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन तथा वित्तीय विवरण सर्वसम्मत रूपमा पारित गरेको छ। साथै, कम्पनीको विद्यमान चुक्ता पूँजी ५ अर्ब १ करोड ४९ लाख २४ हजार ५६ रुपैयाँको १०.१७८० प्रतिशतका दरले कर सहित ५१ करोड ४ लाख १८ हजार ९ सय ७० रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि स्वीकृत भएको छ।

त्यसैगरी, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्तावसमेत सभाबाट पारित गरिएको छ।

साधारण सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले संस्थागत सुशासन, प्रणाली विकास, ग्राहक–मुखी सेवा, अभिकर्तामैत्री प्रोत्साहन कार्यक्रम, शाखा सञ्जाल विस्तार, सूचना प्रविधिको प्रभावकारी प्रयोग, सुदृढ आन्तरिक नियन्त्रण प्रणाली तथा खर्च व्यवस्थापनमा मितव्ययीताका कारण कम्पनीले बीमा बजारमा सम्मानजनक स्थान कायम गर्न सफल भएको जानकारी दिए।

उनले मर्जरपछिका चुनौतीहरूलाई धैर्यतापूर्वक व्यवस्थापन गर्दै कम्पनीलाई सबल र सक्षम बीमा कम्पनीको रूपमा अघि बढाइरहेको पनि उल्लेख गरे।

सभाको सफल आयोजनामा सहयोग पुर्‍याउने सम्पूर्ण शेयरधनी, अतिथि, नियमनकारी निकायहरूकम्पनी रजिष्ट्रार कार्यालय, नेपाल बीमा प्राधिकरण, धितोपत्र बोर्ड,सञ्चालक समिति, संस्थागत साझेदार, अभिकर्ता, बीमित, सञ्चारकर्मी तथा कर्मचारीहरूलाई धन्यवाद ज्ञापन गर्दै सभाध्यक्षले साधारण सभा समापन गरेका थिए।