१३ हजार मतान्तरले हारेका थापाले अमरेश सिंहलाई दिए बधाई
वि.सं.२०८२ फागुन २४ आइतवार १०:३६
shares

काठमाडौं, २५ फागुन । सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. अमरेशकुमार सिंहलाई नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बधाई दिएका छन्।
थापाले सामाजिक सञ्जालमार्फत सिंहलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन्। उनले मधेशका समस्या समाधानका लागि आफू पनि प्रतिबद्ध रहने बताएका छन्।
सामाजिक सञ्जालमा थापाले लेखेका छन्, “मलाई माया, विश्वास र मत दिनुहुने यस क्षेत्रका सम्पूर्ण मतदाताप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु। यस क्षेत्रमा मैले देखेका समस्याहरूको सम्बोधन गर्न, मेरो पहल र क्षमताभित्रबाट सम्भव हुने कामहरू निरन्तर रूपमा गरिरहनेछु।”
सर्लाही–४ मा भएको प्रतिस्पर्धामा थापा डा. सिंहसँग १३ हजारभन्दा बढी मतान्तरले पराजित भएका छन्। निर्वाचन परिणामअनुसार सिंहले ३५ हजार ६८८ मत प्राप्त गर्दा थापाले २२ हजार ८३१ मत पाएका छन्।
यस नतिजासँगै सिंह संघीय संसदमा निर्वाचित भएका छन् भने थापाले मतदातालाई धन्यवाद दिँदै क्षेत्रका मुद्दामा सक्रिय रहने प्रतिबद्धता जनाएका छन्।



















