Dhulikhel Eco Banner new

सानो ऋणको ठूलो परिणामः टपरी उद्योगबाट आर्थिक उन्नति

1.87K
shares

काठमाडौं, २५ चैत । नवलपुरको कावासोती–६ विष्णुनगरकी श्यामकला न्यौपानेले करिब १५ वर्षदेखि टपरी व्यवसाय सञ्चालन गर्दै आएकी छन् । उनले सुरुवातमै लघुवित्त संस्थाबाट ऋण लिएर व्यवसाय सुरु गरेकी हुन् । सुरुमा एक लाख रुपैयाँ ऋण लिएर पात किन्ने र टपरी बनाउने मेसिन किनेर घरमै उद्योग सञ्चालन गरिन् ।

सुरुमा २१ रुपैयाँबाट सुरु भएको टपरीको मूल्य अहिले ३२० रुपैयाँ पुगेको छ । अहिले उद्योगमा दुईवटा मेसिन छ भने घरमै दुई जना स्थायी कामदार काम गर्छन् । साथै, गाउँका दिदीबहिनीहरूलाई पात संकलनको काम दिएर उनले डेढ सयभन्दा बढी महिलालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी दिएकी छन् ।

अब भने उनी उद्योगलाई अझ विस्तार गर्ने योजनामा छिन् । करिब पाँच–छ लाख रुपैयाँ पर्ने अटोमेटिक मेसिन ल्याएर उत्पादन बढाउने उनको योजना छ ।

श्यामकलाले समयमै किस्ता र ब्याज तिर्दै व्यवसाय विस्तार गर्दै गएकी छन् । हालसम्म उनले पाँच–छ पटक ऋण लिइसकेकी छन् । पछिल्लो पटक पाँच लाख रुपैयाँ ऋण लिएर बुहारीलाई जापान पठाइन् भने सात लाख रुपैयाँ ऋण लिएर घडेरी समेत जोडिसकेकी छन् ।

उनका अनुसार ऋणलाई सही ढंगले प्रयोग गर्न सके प्रगति सम्भव हुन्छ । “दिदीबहिनीहरूले संस्थाबाट ऋण लिएर सदुपयोग गर्नुभयो भने प्रगति हुन्छ,” उनी भन्छिन् । साथै, उनले लघुवित्त संस्थालाई साना उद्यमीका लागि ब्याजदर केही कम गरिदिन आग्रह पनि गरेकी छन् ।

१५ वर्षअघि सानो ऋणबाट सुरु भएको श्यामकलाको यात्रा आज गाउँको उदाहरण बनेको छ । लघुवित्तको सहायताले सुरु भएको उनको टपरी उद्योगले अहिले उनको परिवारको आर्थिक अवस्था मजबुत बनाउनुका साथै गाउँका सयौं महिलालाई पनि आम्दानीको अवसर दिएको छ ।