महालक्ष्मी विकास बैंकद्वारा यूनियनपे इन्टरनेशनलसँग सहकार्य गर्दै अन्तरदेशीय क्यूआर भुक्तानी सेवा सुरु
वि.सं.२०८३ वैशाख ७ सोमवार १५:३८
shares

काठमाडौं, ७ वैशाख । महालक्ष्मी विकास बैंकले यूनियनपे इन्टरनेशनलसँगको सहकार्यमा नेपालमा अन्तरदेशीय क्यूआर भुक्तानी सेवा औपचारिक रूपमा सुरु गरेको छ। फोनपे क्यूआर मर्चेन्ट नेटवर्कमार्फत लागू गरिएको यस सेवाले अब यूनियनपे वालेट प्रयोगकर्तालाई नेपालभित्र रहेका महालक्ष्मी विकास बैंकका क्यूआर मर्चेन्टहरूमा सहज रूपमा भुक्तानी गर्न सक्ने सुविधा प्रदान गर्नेछ।
यस सेवाले विशेष गरी चीनलगायत विभिन्न देशबाट नेपाल भ्रमणमा आउने पर्यटकहरूलाई लक्षित गरेको छ। अब पर्यटकहरूले नगद बोकेर हिँड्नुपर्ने बाध्यता घट्दै क्यूआर स्क्यानमार्फत सुरक्षित र सजिलो भुक्तानी गर्न सक्नेछन्।
सन् २००२ मा स्थापना भएको यूनियनपे विश्वका सबैभन्दा ठूला भुक्तानी सेवा प्रदायकमध्ये एक हो, जसले ९।६ अर्बभन्दा बढी कार्ड जारी गरेको छ र १८० भन्दा बढी देश तथा क्षेत्रमा यसको स्वीकृति रहेको छ।
बैंकले यो सेवा सञ्चालनसँगै नेपालको क्यूआर भुक्तानी पूर्वाधार अझ प्रभावकारी हुने विश्वास व्यक्त गरेको छ। साथै, बैंकले डिजिटल नवप्रवर्तनलाई सुरक्षित, प्रभावकारी र समावेशी बनाउन निरन्तर प्रतिबद्ध रहेको जनाएको छ।
यसैबीच, बैंकले “डिजिटल प्रवर्द्धन वर्ष २०८३” को योजना अन्तर्गत मोबाइल एप “महालक्ष्मी स्मार्ट साथी” प्रयोगकर्ताहरूका लागि विशेष योजना पनि घोषणा गरेको छ। योजना अनुसार बैशाख महिनाको पहिलो हप्तामा कम्तीमा एक सफल कारोबार गर्ने प्रयोगकर्तामध्ये गोलाप्रथाबाट ३ जनाले आकर्षक भ्रमण प्याकेज प्राप्त गर्नेछन्।
“सबल बैंक, सफल सहकार्य” नारासहित सेवा विस्तार गर्दै आएको बैंकका देशभर १०३ शाखा कार्यालय छन् र करिब ८ लाख ५० हजारभन्दा बढी ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ।



















