यूएई सहितका खाडी मुलुकका लागि श्रम स्वीकृति पुनः खुला
वि.सं.२०८३ वैशाख ७ सोमवार १८:०३
shares

काठमाडौं, ७ वैशाख । सरकारले संयुक्त अरब इमिरेट्स ९यूएई० सहित खाडीका विभिन्न मुलुकहरूका लागि स्थगित गरिएको श्रम स्वीकृति पुनः सुचारु गर्ने निर्णय गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सोमबार मन्त्रीस्तरीय निर्णय गर्दै यसअघि लगाइएको अस्थायी प्रतिबन्ध हटाएको हो।
मन्त्रालयको निर्णयसँगै अब साउदी अरेबिया, यूएई, कतार, कुवेत, बहराइन, ओमान, जोर्डन, लेबनन, टर्की र इजरायलका लागि व्यक्तिगत, संस्थागत तथा वैधानिकीकरणसहित सबै प्रकारका श्रम स्वीकृति पूर्ववत रूपमा जारी हुने वैदेशिक रोजगार विभागले जनाएको छ।
पश्चिम एसियाली क्षेत्रमा इरान युद्धका कारण उत्पन्न असहज सुरक्षा अवस्थालाई ध्यानमा राख्दै सरकारले फागुन १७ गते ती मुलुकहरूमा वैदेशिक रोजगारीका लागि जाने श्रमिकमाथि अस्थायी रोक लगाएको थियो। अहिले परिस्थितिमा सुधार आएसँगै श्रमिकहरूको माग र हितलाई मध्यनजर गर्दै पुनः श्रम स्वीकृति खुला गरिएको विभागले स्पष्ट पारेको छ।
यद्यपि, इराकको हकमा भने मन्त्रिपरिषद्को २०८२ पुस ११ गतेको निर्णयअनुसार नै व्यवस्था लागू रहने जनाइएको छ। यस निर्णयसँगै श्रम स्वीकृतिको पर्खाइमा रहेका हजारौँ नेपाली युवाहरू लाभान्वित हुने अपेक्षा गरिएको छ।



















