स्थिर सम्पत्ति खरिद–बिक्रीमा नयाँ नियम, बीमकका लागि कडा मापदण्ड लागू
वि.सं.२०८३ वैशाख १० बिहीवार १६:५९
shares

काठमाडौं, १० वैशाख । नेपाल बीमा प्राधिकरणले बीमक (इन्स्योरेन्स कम्पनी)हरूका लागि स्थिर सम्पत्ति खरिद तथा बिक्रीसम्बन्धी नयाँ निर्देशिका, २०८२ जारी गरेको छ। यस निर्देशिकाले विशेषगरी प्रविधिमैत्री अभिलेखीकरण, संस्थागत सुशासन र प्रभावकारी निगरानी प्रणालीलाई प्राथमिकतामा राखेको छ।
प्राधिकरणका अनुसार अब बीमा कम्पनीहरूले कार्यालय प्रयोजनबाहेक घरजग्गा खरिद गर्नुअघि केही कडा मापदण्ड पूरा गर्नुपर्नेछ। कम्पनीको पूर्वसञ्चालन खर्च पूर्ण रूपमा अपलेखन भएको हुनुपर्ने, सर्वसाधारणमा शेयर जारी गरिसकेको र पहिलो वार्षिक साधारणसभा (एजीएम) सम्पन्न भइसकेको हुनुपर्ने व्यवस्था गरिएको छ।
त्यसैगरी, कम्पनीले लगातार दुई आर्थिक वर्षसम्म नोक्सानी व्यहोरेको हुनु नहुने र कम्तीमा १३० प्रतिशत सोल्भेन्सी मार्जिन कायम गरेको हुनुपर्ने प्रावधान पनि समावेश गरिएको छ। यसले बीमा कम्पनीहरूको वित्तीय स्थायित्व सुनिश्चित गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ।
निर्देशिकाअनुसार बीमा कम्पनीहरूले आफ्नो नेटवर्थको ३० प्रतिशत सीमाभित्र रहेर मात्र स्थिर सम्पत्तिमा लगानी गर्न पाउनेछन्। साथै, लगानीका लागि खरिद गरिएको घरजग्गा पाँच वर्षसम्म प्रयोगमा नआएमा अनिवार्य रूपमा बिक्री योजना तयार गरी प्राधिकरणमा पेश गर्नुपर्नेछ।
यसबाहेक, यदि कुनै कम्पनीले आफ्नो नेटवर्थको १० प्रतिशतभन्दा बढी मूल्य बराबरको सम्पत्ति एकै आर्थिक वर्षमा बिक्री गरेमा त्यसबारे प्राधिकरणलाई जानकारी दिनुपर्ने व्यवस्था पनि लागू गरिएको छ।
प्राधिकरणले नयाँ निर्देशिकामार्फत बीमा क्षेत्रलाई अझ व्यवस्थित, पारदर्शी र जिम्मेवार बनाउने लक्ष्य लिएको जनाएको छ।



















