Dhulikhel Eco Banner new

एडीबीको २०२५ मा २९.३ अर्ब डलर प्रतिबद्धता

988
shares

काठमाडौं, १० वैशाख । एसियाली विकास बैंक (एडीबी) ले सन् २०२५ मा आफ्नै स्रोतबाट २९ अर्ब ३० करोड अमेरिकी डलर बराबरको वित्तीय प्रतिबद्धता गरेको जनाएको छ। बैंकका अनुसार यो रकम अघिल्लो वर्षको तुलनामा करिब २० प्रतिशतले बढी हो।

एडीबीले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनअनुसार सरकार तथा निजी क्षेत्रलाई प्रदान गरिएको ऋण, अनुदान, इक्विटी लगानी, ग्यारेन्टी तथा प्राविधिक सहयोगमार्फत उक्त प्रतिबद्धता गरिएको हो। साथै साझेदार संस्थामार्फत थप १४ अर्ब ७० करोड डलर बराबरको स्रोत समेत परिचालन गरिएको उल्लेख छ।

बैंकका अनुसार सन् २०२५ मा गरिएको लगानीबाट करिब ३३ लाख रोजगारी सिर्जना हुने र १८ करोडभन्दा बढी जनसंख्या प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ।

निजी क्षेत्र विकासलाई प्राथमिकतामा राख्दै एडीबीले ५ अर्ब ५० करोड डलर बराबरको लगानी गरेको जनाएको छ। सार्वजनिक क्षेत्रतर्फ गरिएको लगानीमध्ये झण्डै आधा हिस्सा पूर्वाधार विकास, नीतिगत सुधार तथा निजी लगानी आकर्षित गर्ने क्षेत्रमा केन्द्रित गरिएको छ।

क्षेत्रगत रूपमा हेर्दा नेपालसहित दक्षिण एसियामा ९ अर्ब ७० करोड डलर, दक्षिणपूर्व एसियामा ९ अर्ब डलर, मध्य तथा पश्चिम एसियामा ८ अर्ब ३० करोड डलर, पूर्वी एसियामा १ अर्ब ४० करोड डलर तथा प्रशान्त क्षेत्रमा ६८ करोड डलर लगानी गरिएको छ।

यसैबीच, एडीबीले सन् २०२५ मा ऊर्जा नीति अद्यावधिक, सार्वजनिक खरिद प्रक्रिया सरलीकरण तथा हरित ऊर्जा र डिजिटल प्रविधिसम्बन्धी आपूर्ति शृंखला विकासजस्ता संस्थागत सुधारका पहलहरू पनि अघि बढाएको जनाएको छ।

एडीबीले यी पहलमार्फत दिगो आर्थिक विकास, रोजगारी सृजना तथा क्षेत्रीय समावेशी वृद्धिलाई थप बल पुर्‍याउने लक्ष्य लिएको जनाएको छ।