Dhulikhel Eco Banner new

हकप्रदमा कमजोर माग, बुद्धभूमी नेपाल हाइड्रोपावरले आवेदन अवधि बढायो

936
shares

काठमाडौँ । बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड (BNHC) ले शतप्रतिशत हकप्रद शेयरमा अपेक्षाभन्दा कम आवेदन परेपछि आवेदन दिने म्याद थप गर्ने निर्णय गरेको छ। कम्पनीले चैत २२ गतेदेखि १:१ अनुपातमा ४० लाख कित्ता हकप्रद शेयर निष्काशन गरेको भए पनि सुरुआती अवधिमा लगानीकर्ताको सहभागिता सन्तोषजनक देखिएको छैन।

हकप्रदका लागि फागुन १ गते बुकक्लोज गरिएको थियो, जसअनुसार माघ २९ गतेसम्म कायम रहेका शेयरधनीहरूले मात्र आवेदन दिन पाउने व्यवस्था छ। प्रारम्भिक रूपमा वैशाख १३ गतेसम्मको समयसीमा तोकिएको थियो। तर सो अवधिसम्म करिब १४ लाख ५० हजार कित्ता मात्र आवेदन परेपछि कम्पनीले थप समय दिने निर्णय गरेको हो। अब थपिएको अवधिमा माग बढ्ने अपेक्षा गरिएको छ।

कम्पनीलाई Infomerics Credit Rating Nepal ले IRN ‘BB’ रेटिङ प्रदान गरेको छ, जसले मध्यम जोखिमको संकेत गर्छ। हकप्रद शेयरको बिक्री प्रबन्धकका रूपमा NIC Asia Capital Limited रहेको छ, जसले निष्काशन प्रक्रियाको व्यवस्थापन गरिरहेको छ।

हाल कम्पनीको चुक्ता पूँजी ४० करोड रुपैयाँ रहेको छ। हकप्रद शेयर पूर्ण रूपमा बाँडफाँड भएमा यो पूँजी दोब्बर भई ८० करोड रुपैयाँ पुग्नेछ। कम्पनीले हकप्रदबाट उठ्ने रकम मुख्यतः बैंक ऋण घटाउन प्रयोग गर्ने जनाएको छ, जसले वित्तीय दबाब कम गर्ने अपेक्षा गरिएको छ।

कम्पनीको हाल करिब ९६ करोड ९० लाख रुपैयाँ बराबरको ऋण रहेको छ। हकप्रदबाट प्राप्त रकम प्रयोग गरेपछि यो ऋण घटेर करिब ५६ करोड ९० लाख रुपैयाँमा झर्ने अनुमान गरिएको छ। ऋण भार घटेसँगै ब्याज खर्चमा कमी आउँदा दीर्घकालीन रूपमा कम्पनीको नगद प्रवाह र नाफामा सुधार हुने सम्भावना रहेको छ।