Dhulikhel Eco Banner new

ग्राहक सूचना लिक भएको दाबी ‘भ्रामक र आधारहीन’ होः नबिल बैंक

2.8K
shares

काठमाडौं, ११ वैशाख । नबिल बैंक लिमिटेडले आफ्नो ग्राहकको गोपनीयता भंग गरी कारोबारसम्बन्धी विवरण चुहावट गरेको भन्ने आरोपलाई पूर्ण रूपमा अस्वीकार गरेको छ। पछिल्ला दिनहरूमा सामाजिक सञ्जाल तथा केही सञ्चार माध्यममा फैलिएको यस्ता दाबीहरू आधारहीन र प्रमाणविहीन रहेको बैंकले जनाएको छ।

बैंकले एक विज्ञप्ति जारी गर्दै यस्तो भ्रामक सूचनाले बैंकिङ प्रणालीप्रतिको जनविश्वास कमजोर पार्ने प्रयास भएको उल्लेख गरेको छ। “हामी यस प्रकारको दुष्प्रचारको स्पष्ट रूपमा खण्डन गर्दछौं,” विज्ञप्तिमा भनिएको छ।

मिति २०८३ वैशाख ९ गते प्रकाशित एक समाचारलाई उल्लेख गर्दै बैंकले उक्त विवरण अनुसन्धानरत निकायबाट प्राप्त भएको स्पष्ट उल्लेख गरिएको दाबी गरेको छ। विभिन्न बैंक तथा वित्तीय संस्थाहरूमा भएका कारोबारहरूको विवरण सार्वजनिक गरिएको तथ्यलाई बेवास्ता गर्दै केही व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत नबिल बैंकलाई लक्षित गरी गलत प्रचार गरेको बैंकको भनाइ छ।

बैंकले स्पष्ट पारेको छ कि ग्राहकको व्यक्तिगत विवरण ग्राहक स्वयं, आधिकारिक प्रतिनिधि वा कानुनी प्रक्रिया अनुसार माग गर्ने नियामक तथा अनुसन्धानकारी निकाय बाहेक कसैलाई पनि उपलब्ध गराइँदैन। साथै, कुनै पनि विवरण प्रणालीबाट निकालिएको खण्डमा त्यससम्बन्धी सम्पूर्ण विवरण बैंकको कोर बैंकिङ प्रणालीमा सुरक्षित रूपमा अभिलेख हुने जनाइएको छ।

नबिल बैंकले आफू प्रचलित कानुन, नियमन तथा आन्तरिक नीतिहरूको पूर्ण पालना गर्दै ग्राहक सूचनाको गोपनीयता कायम गर्न प्रतिबद्ध रहेको जनाएको छ। चार दशकभन्दा बढीको अनुभव भएको जिम्मेवार बैंकको रूपमा कुनै पनि ग्राहकको विवरण अनधिकृत रूपमा सार्वजनिक गर्ने सम्भावना नरहेको बैंकको दाबी छ।

बैंकले तथ्यहीन प्रचार नगर्न तथा जनमानसलाई भ्रमित नपार्न सम्बन्धित सबैलाई आग्रह गरेको छ। साथै, यस्ता दुष्प्रचारमा संलग्न व्यक्तिमाथि विद्युतीय कारोबार ऐन, २०६३ लगायत प्रचलित कानुनअनुसार कारबाही अघि बढाइने चेतावनी पनि दिएको छ।

अन्त्यमा, बैंकले आफ्ना ग्राहक तथा सरोकारवालाहरूलाई यस्ता भ्रामक सूचनामा विश्वास नगर्न अनुरोध गर्दै सुरक्षित र विश्वसनीय बैंकिङ सेवा प्रदान गर्न निरन्तर प्रतिबद्ध रहेको जनाएको छ।