चैतमा महँगीको चर्को मारः तरकारी ३०० प्रतिशतसम्म महँगो
वि.सं.२०८३ वैशाख १३ आइतवार १०:२०
shares

काठमाडौं, १३ वैशाख । नेपाली उपभोक्ताका लागि गएको चैत महिना अत्यन्तै कष्टकर बनेको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को चैत महिनाको मूल्य विश्लेषण प्रतिवेदनले दैनिक उपभोग्य वस्तुको मूल्य अस्वाभाविक रूपमा बढेको देखाएको छ।
पेट्रोलियम पदार्थको निरन्तर मूल्यवृद्धि र अमेरिकी डलरको मजबुत विनिमय दरका कारण ढुवानी तथा आयात खर्च बढ्दा यसको प्रत्यक्ष असर सर्वसाधारणको भान्छामा परेको जनाइएको छ।
प्रतिवेदनअनुसार चैत महिनामा सबैभन्दा बढी मूल्यवृद्धि तरकारीमा देखिएको छ। कालीमाटी फलफूल तथा तरकारी बजारको विवरणलाई आधार मान्दा केही तरकारीको मूल्य ३०० प्रतिशतभन्दा बढीले बढेको छ। स्थानीय काउलीको मूल्य ३०४.७६ प्रतिशतले वृद्धि भएको छ भने हाइब्रिड घिउ सिमी ३०० प्रतिशत र स्थानीय घिउ सिमी २६६.६७ प्रतिशतले महँगिएको छ।
फर्सी र ब्रोकाउलीको मूल्यमा पनि क्रमशः २०० र १८७ प्रतिशतको वृद्धि देखिएको छ। मौसमी प्रभाव र ढुवानी खर्च बढेका कारण तरकारीको मूल्य नियन्त्रण बाहिर गएको निष्कर्ष निकालिएको छ, यद्यपि निगुरो, च्याउ, तोफु र तामा जस्ता वस्तुको मूल्य भने स्थिर रहेको पाइएको छ।
चैत महिनामा इन्धनको मूल्यमा भएको वृद्धि महँगीको प्रमुख कारण बनेको छ। प्रतिवेदनअनुसार फागुनदेखि चैतसम्म पेट्रोलियम पदार्थको मूल्य ६ पटक समायोजन गरिएको थियो। चैत २६ गतेसम्म पेट्रोल प्रतिलिटर २१९ रुपैयाँ, डिजेल र मट्टितेल २०७ रुपैयाँ तथा एलपी ग्यास प्रतिसिलिन्डर १९१० रुपैयाँ पुगेको थियो। हवाई इन्धनको मूल्यसमेत बढेर १७८५ रुपैयाँ पुगेको छ। इन्धन महँगिँदा ढुवानी भाडा र उत्पादन लागत बढेर बजारमा सबै वस्तुको मूल्य वृद्धि भएको जनाइएको छ।
अमेरिकी डलरको विनिमय दरमा आएको उतारचढावले पनि महँगी बढाउन भूमिका खेलेको छ। चैत १६ गते डलरको खरिद दर १५१.४१ रुपैयाँ र बिक्री दर १५२.०१ रुपैयाँ पुगेर उच्च बिन्दुमा पुगेको थियो। आयातमा निर्भर अर्थतन्त्र भएकाले डलर महँगिँदा आयातित वस्तु महँगो हुने र त्यसले बजारमा ‘आयातित मुद्रास्फीति’ सिर्जना गर्ने प्रतिवेदनमा उल्लेख छ।
खाद्यान्नतर्फ पनि चैतमा मूल्य वृद्धि देखिएको छ, विशेषगरी काठमाडौँ उपत्यकामा। सोना मन्सुली चामल प्रतिकिलो ९५ रुपैयाँ, बासमती चामल १८५ रुपैयाँ र जिरा मसिनो चामल १०२ रुपैयाँ पुगेको छ। मासको दाल प्रतिकिलो १९० रुपैयाँ र मुसुरोको दाल १८५ रुपैयाँ पुगेको छ भने चिनीको मूल्य १०० रुपैयाँ कायम भएको छ। तेलको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ।
विभागले मूल्यवृद्धिको प्रमुख कारणका रूपमा माग र आपूर्तिबीचको असन्तुलन, इन्धनको मूल्यवृद्धि र बिचौलियाको प्रभावलाई औंल्याएको छ। उत्पादनको समयमा मूल्य घट्नुपर्नेमा उल्टै बढ्नु चिन्ताजनक भएको प्रतिवेदनमा उल्लेख गरिएको छ। बजार नियन्त्रण र उपभोक्ता हित संरक्षणका लागि विभागले अधिकतम खुद्रा मूल्य अनिवार्य कार्यान्वयन, सघन बजार अनुगमन, सूचना प्रविधिको प्रयोग तथा स्थानीय उत्पादनमा जोड दिने जनाएको छ।



















