Dhulikhel Eco Banner new

विपिनकुमार आचार्यले सुरु गरे ‘विधेयक प्रयोगशाला’

1.57K
shares

काठमाडौं, १३ वैशाख । नागरिक सहभागितामार्फत कानुन निर्माण प्रक्रियालाई खुला बनाउने पहलस्वरूप विपिनकुमार आचार्यले ‘विधेयक प्रयोगशाला’ सुरू गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री तथा दाङ क्षेत्र नम्बर-२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य आचार्यले संसदमा दर्ता हुने विधेयकहरूमाथि प्रत्यक्ष रूपमा नागरिक, विषय विज्ञ र सरोकारवालाको सुझाव संकलन गर्ने उद्देश्यले यो प्लेटफर्म ल्याएका हुन्।

उनका अनुसार आधिकारिक वेबसाइटमार्फत सञ्चालनमा आएको ‘विधेयक प्रयोगशाला’मा विधेयकहरू पढ्न, बुझ्न, छलफल गर्न तथा दफा–दफामा सुझाव र संशोधन प्रस्ताव राख्न सकिनेछ।

आचार्यले कानुन निर्माणलाई केवल बन्द कोठाको प्रक्रिया बनाउनु उपयुक्त नहुने उल्लेख गर्दै नागरिकको प्रत्यक्ष सहभागिताले मात्र कानुनलाई व्यवहारिक र जनमुखी बनाउन सकिने बताए। उनले नागरिकहरूले विधेयकका प्रभाव, कमजोरी र सुधारका सम्भावनाबारे तथ्यमा आधारित सुझाव दिन सक्ने व्यवस्था गरिएको जानकारी दिए।

हाल प्रयोगशालामा चलचित्र र पर्यटनसम्बन्धी दुई विधेयकमा सुझाव दिन सकिने व्यवस्था गरिएको छ। प्राप्त सुझावहरूलाई अध्ययन गरी सम्भव भएसम्म संसदको औपचारिक प्रक्रियामा समावेश गरिने उनले बताएका छन्।

आगामी दिनमा अन्य विधेयकहरूलाई पनि यसै प्रक्रियामार्फत सार्वजनिक छलफलका लागि खुला गर्दै जाने योजना रहेको आचार्यको भनाइ छ।