Dhulikhel Eco Banner new

धितोपत्रको दोस्रो बजार अस्थिर, स्थायित्वका लागि सुधार आवश्यक छः अर्थ मन्त्रालय

1.07K
shares

काठमाडौं, १४ वैशाख । अर्थ मन्त्रालयले धितोपत्रको दोस्रो बजार अस्थिर रहँदै आएको स्वीकार गर्दै कारोबारमा स्थिरता ल्याउन तत्काल कदम चाल्नुपर्ने आवश्यकता औंल्याएको छ। ‘वर्तमान आर्थिक स्थिति’ सार्वजनिक गर्दै मन्त्रालयले पूँजी बजारलाई अझ व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउन नीतिगत तथा कानुनी सुधार अनिवार्य रहेको जनाएको हो।

मन्त्रालयका अनुसार पूँजी बजारको दायरा विस्तार गरी उत्पादनमूलक कम्पनीहरूलाई सूचीकृत गर्न प्रोत्साहन गर्नुपर्ने, गैरआवासीय नेपाली एनआरएनको लगानी आकर्षित गर्नुपर्ने तथा ऋणपत्र बजारको विकासका लागि कानुनी संरचना सुदृढ गर्नुपर्ने देखिएको छ।

दोस्रो बजार कारोबारमा पारदर्शिता, विश्वसनीयता र स्थिरता अभाव रहेको उल्लेख गर्दै मन्त्रालयले लगानीकर्ताको विश्वास बढाउन नियामक सुधार अपरिहार्य रहेको जनाएको छ।

हालसम्म २०८२ फागुनसम्म पूँजी बजारमा २८६ कम्पनी सूचीकृत रहेका छन्। दोस्रो बजार कारोबारमा इक्विटीको हिस्सा अत्यधिक ९९.४ प्रतिशत रहेको छ भने सरकारी ऋणपत्र सूचीकृत गर्ने प्रावधान भए पनि प्रभावकारी कारोबार हुन सकेको छैन।

बजार पूँजीकरण कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को अनुपात २०७३ असारमा ७२.५ प्रतिशत रहेकोमा २०८२ फागुनमा बढेर ७७.७ प्रतिशत पुगेको छ। यद्यपि, बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरूको वर्चस्व घट्दै गएको देखिएको छ। २०७३ असारमा ८५ प्रतिशतभन्दा बढी रहेको यस्तो संस्थाहरूको हिस्सा २०८२ फागुनमा ५२.२ प्रतिशतमा झरेको मन्त्रालयले जनाएको छ।

सरकार गठनअघि २०८२ चैत ११ गते नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचकांक २ हजार ९५०.१६ बिन्दुमा रहेको थियो।

अर्थ मन्त्रालयले समग्रमा पूँजी बजारलाई दीगो र सन्तुलित बनाउँदै वास्तविक क्षेत्रसँग जोड्ने गरी सुधारका कार्यक्रम अघि बढाइने जनाएको छ।