Dhulikhel Eco Banner new

‘बीमा क्षेत्रको नियमन फितलो, व्यापक सुधार आवश्यक छ’

858
shares

काठमाडौं, १४ वैशाख । अर्थ मन्त्रालयले नेपालको बीमा व्यवसायको नियमन फितलो रहेको स्वीकार गर्दै व्यापक सुधार आवश्यक रहेको जनाएको छ। ‘वर्तमान आर्थिक स्थिति’ सार्वजनिक गर्दै मन्त्रालयले बीमा क्षेत्रमा देखिएका संरचनात्मक कमजोरीहरू समाधान गर्न नीतिगत हस्तक्षेप अनिवार्य भएको उल्लेख गरेको हो।

मन्त्रालयका अनुसार बीमा क्षेत्रमा कृत्रिम दाबी र भुक्तानीको परिपाटी नियन्त्रण गर्नु तत्काल चुनौतीका रूपमा देखिएको छ। साथै, बीमा सेवाको दायरा अझ विस्तार गर्दै जोखिम व्यवस्थापन सुदृढ गर्न र दीर्घकालीन पुँजी परिचालनलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याइएको छ।

सरकारको लगानीमा स्थापना भएका बीमा कम्पनीहरूको वित्तीय तथा व्यवस्थापकीय क्षमता अपेक्षाकृत कमजोर रहेको मन्त्रालयले जनाएको छ। यस्ता संस्थाहरूलाई प्रतिस्पर्धी र सक्षम बनाउन संस्थागत सुधार आवश्यक रहेको उल्लेख गरिएको छ।

यद्यपि, पछिल्लो समय बीमा सेवाको पहुँच विस्तार हुँदै गएको देखिएको छ। मन्त्रालयका अनुसार २०८२ फागुनसम्म बीमाको पहुँच ४९।९२ प्रतिशत पुगेको छ, जुन अघिल्लो अवधिको तुलनामा उल्लेखनीय वृद्धि हो।

हाल नेपालमा १४ जीवन बीमा, १४ निर्जीवन बीमा, ७ लघुबीमा र २ पुनर्बीमा कम्पनी गरी कुल ३७ बीमा कम्पनी सञ्चालनमा रहेका छन्।

अर्थ मन्त्रालयले समग्र बीमा क्षेत्रलाई पारदर्शी, विश्वसनीय र प्रभावकारी बनाउँदै आर्थिक स्थायित्वमा योगदान पुर्‍याउने दिशामा सुधारका कार्यक्रम अघि बढाइने जनाएको छ।