Dhulikhel Eco Banner new

बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण

793
shares

काठमाडौं, १८ वैशाख । काठमाडौंको बल्खु र वंशीघाटस्थित सुकुमबासीबस्तीबाट हटाइएकामध्ये शुक्रबार दिउँसोसम्म ५० घर परिवारले दशरथ रङ्गशालामा पुगेर नाम टिपाएका छन् । घर, जग्गा, पैतृक सम्पत्ति नभएको र न्यून आयस्रोत भएको उल्लेख गर्दै उनीहरूले विवरण टिपाएका हुन् ।

दशरथ रङ्गशालामा शहरी विकास तथा भवन निर्माण विभाग, काठामाडौँ उपत्यका विकास प्राधिकरण, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र काठमाडौँ महानगर प्रहरीको संयुक्त टोलीले उनीहरूको विवरण सङ्कलन गरिरहेको छ ।

विवरण सङ्कलनपछि स्वास्थ्य जाँच तथा मनोपरामर्श गरेर उनीहरूलाई तोकिएका ‘होल्डिङ सेन्टर’मा लैजाने तयारी भइरहेको जनाइएको छ । उनीहरूलाई तत्कालका लागि ललितपुरको धापाखेलस्थित टेवा कार्यालय तथा निवास, भक्तपुरको खरिपाटीको विद्युत् तालिम केन्द्र, बोडेस्थित कृषि विकास बैंक तालिम केन्द्र, नगरकोट खानेपानी तालिम केन्द्र, काठमाडौँको चोभारस्थित तरकारी बजार व्यवस्थापन केन्द्र र काभ्रे होल्डिङ सेन्टरमा लैजाने तयारी भइरहेको छ ।

अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत समितिका आयोजना निर्देशक मचाकाजी महर्जनले दशरथ रङ्गशालामा आइपुगेका सुकुमबासीको विवरण सङ्कलन गरी उनीहरूलाई होल्डिङ सेन्टरमा पठाउने तयारी भइरहेको जानकरी दिए ।