नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण
दूरसञ्चार क्षेत्रको दिगो विकासमा जोड दिनुपर्ने सरोकारवालाको भनाइ
वि.सं.२०८३ वैशाख १८ शुक्रवार १७:२४
shares

काठमाडौं, १८ वैशाख । प्रविधि पत्रकार मञ्च (टीजेएफ) र हुवावे नेपालले संयुक्त रूपमा आयोजना गरेको ‘टेक फर्वार्डः मिडिया डायलग २०२६’ कार्यक्रम सम्पन्न भएको छ । बिहिबार हात्तिसारस्थित हुवावे टावरमा आयोजित कार्यक्रममा सूचना प्रविधि, डिजिटल रूपान्तरण तथा आर्टिफिसियल इन्टेलिजेन्स ९एआई०को प्रभावबारे प्रविधि क्षेत्रका विज्ञ र सञ्चारकर्मीबीच छलफल भएको थियो ।
सहभागीहरूलाई स्वागत गर्दै हुवावे नेपालका प्रमुख कार्यकारी अधिकृत चेन केयाङ (चेस्टर) ले नेपालमा प्रविधि क्षेत्रको विकासका लागि आफू उत्साहित रहेको बताए । पर्याप्त दक्ष जनशक्ती भए पनि आईसीटी विकासमा नेपाल छिमेकी देशहरूभन्दा अलि पछाडि रहेको उनले औँल्याए । ‘तर यो अवसर पनि हो किनभने अन्य देशको तुलनामा यहाँ सुधार गर्ने ठाउँ धेरै छन्,’ उनले भने, ‘नेपालमा दूरसञ्चार क्षेत्रको दिगो र अर्गानिक वृद्धिलाई जोड दिनुपर्छ । यसका लागि नियामक, सरकार, टेलिकम अपरेटर, हुवावे र मिडिया सबैको संयुक्त प्रयास महत्वपूर्ण हुन्छ ।’ एउटा मात्र पक्षको विकासले समग्र उद्योग सबल बन्न नसक्ने उनले उल्लेख गरे ।
नेपालमा मोबाइल इन्टरनेटको पाँचौँ पुस्ता, फाइभजी सञ्चालनको सम्भावना, चुनौती र आवश्यकताबारे छलफल भएको थियो । फाइभजी शुरु गर्न फोरजीको पूर्वाधार विस्तार किन महत्वपूर्ण छ भन्ने चर्चा भयो । नेपालजस्ता देशमा तुरुन्तै स्ट्यान्ड(अलोन फाइभजी पूर्वधार विकास गर्न लगानी, भौगोलिक जटिलताजस्ता कारणले कठीनाइ हुने औँल्याउँदै विज्ञहरूले नन(स्ट्यान्ड अलोन प्रविधि विकल्प हुने उल्लेख गरे । नन(स्ट्यान्ड अलोन भनेको फोरजीकै पूर्वाधारमा फाइभजीका उपकरण राखेर सेवा विस्तार गर्ने विकल्प हो । यसमा फाइभजी सेवा दिँदा छुट्टै नयाँ कोर नेटवर्क बनाइँदैन। बरु, अहिले भइरहेको फोरजी एलटीईको कोर नेटवर्क र पूर्वाधारलाई नै आधार मानिन्छ । यसले गर्दा फाइभजीका लागि फोरजी विस्तार महत्वपूर्ण रहेको विज्ञहरूको भनाइ थियो ।
विश्वमा पहिलो चरणमै थ्रीजी भित्र्याउन सफल नेपाल फाइभजीमा भने सुस्त देखिएको सहभागीहरूले बताए । नियामक नेपाल दुरसञ्चार प्राधिकरण र दूरसञ्चार सेवा प्रदायक र सरकारको आपसी सामञ्जस्यता नहुँदा फाइभजीमा ढिलाइ भइरहेको धेरैको बुझाइ थियो ।
समारोहमा टीजेएफका अध्यक्ष पूर्ण दुवालले प्रविधि पत्रकारिताको वर्तमान अवस्था र भविष्यबारे प्रकाश पारे । उनले डिजिटल रूपान्तरणसँगै मिडियामा आएको परिवर्तन, तथ्यपरक र उत्तरदायी पत्रकारिताको आवश्यकता तथा प्रविधि पत्रकारहरूको क्षमता अभिवृद्धिमा यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताए । ‘आजको युगमा प्रविधि र मिडिया एकअर्काका पूरक बनिसकेका छन्,’ उनले भने, ‘सही सूचना प्रवाह र डिजिटल साक्षरता अभिवृद्धिका लागि प्रविधि पत्रकारिताको भूमिका झनै महत्वपूर्ण बन्दै गएको छ ।’
कार्यक्रममा एआई, डेटा सेन्टर, फाइभजी, नविकरणीय ऊर्जा, मोबाइल ब्रोडब्यान्डजस्ता विषयमा प्रस्तुतीकरण तथा संवाद गरिएको थियो । हुवावे इन्टरप्राइजेजका निर्देशक प्रदीप पन्हुरले ‘एआई ट्रेन्ड्स एन्ड इन्टरप्राइज सोलुसन्स’ विषयमा प्रस्तुतीकरण गर्दै व्यावसायिक क्षेत्रमा एआई प्रयोग तीव्र रूपमा बढिरहेको उल्लेख गरे । एआईको प्रयोगले उत्पादकत्व वृद्धि, लागत व्यवस्थापन र निर्णय प्रक्रियामा सुधार ल्याउने बताए ।
त्यस्तै, डेटा सेन्टर विज्ञ रोहितचन्द्र शाहले ‘नेक्स्ट जेन डेटा सेन्टर सोलुसन फर एक्सिलरेटिङ डिजिटलाइजेसन’ विषयमा प्रस्तुतीकरण गरे । उनले डिजिटल अर्थतन्त्रमा डेटा सेन्टरको महत्वबारे चर्चा गरे । बढ्दो डिजिटल डेटा व्यवस्थापनका लागि सुरक्षित, दिगो र उच्च क्षमताका डेटा सेन्टर आवश्यक रहेको बताए । त्यसैगरी, प्रभात रेग्मीले ‘फाइभजी ट्रेन्ड एन्ड इन्नोभेसन’ शीर्षकमा प्रस्तुतीकरण गर्दै फाइभजी प्रविधिले सञ्चार, उद्योग तथा सेवा क्षेत्रमा ल्याउने परिवर्तनबारे विस्तृत जानकारी दिए । उनले फाइभजी को प्रयोगले स्मार्ट सिटी, इन्टरनेट अफ थिङ्स ९आईओटी०, अटोमेसन तथा डिजिटल सेवाहरूलाई नयाँ उचाइमा पुर्याउने बताए ।
कार्यक्रममा सहभागीहरूले प्रविधि र मिडियाबीचको सम्बन्ध, डिजिटल रूपान्तरणका चुनौतीहरू तथा अवसरहरूबारे अन्तरक्रिया गरेका थिए । विशेषगरी डिजिटल युगमा तथ्यपरक सूचना सम्प्रेषण, साइबर सुरक्षा, डेटा गोपनीयताजस्ता विषयमा सहभागीहरूले जिज्ञाशा राखेका थिए ।
कार्यक्रममा टीजेएफका उपाध्यक्ष गणेश सुवेदीले प्रविधि र मिडियाबीच सहकार्य बढाउन, प्रविधि पत्रकारहरूको क्षमता अभिवृद्धि गर्न तथा डिजिटल साक्षरता विस्तार गर्न आवश्यक रहेको औँल्याए । ‘यस्ता कार्यक्रमहरूले ज्ञान आदान-प्रदान मात्र नभई नयाँ सहकार्यका अवसरहरू पनि सिर्जना गर्छन्,’ उनले भने, ‘यसले समग्र डिजिटल इकोसिस्टमलाई सुदृढ बनाउन सहयोग पुर्याउँछ ।’
कार्यक्रमको अन्त्यमा हुवावे नेपालका कर्पोरेट अफेयर्स म्यानेजर असित अधिकारीले विगत २७ वर्षदेखि हुवावेले नेपालमा निरन्तर सेवा दिँदै आएको बताए । उनका अनुसार, हाल विश्वका १७० भन्दा धेरै देशमा सेवा प्रदान गर्दै हुवावले करिब २ लाख ७ हजारभन्दा बढीलाई रोजगारी दिएको छ । ‘हाम्रो उद्देश्य व्यापारिक मात्र होइन, सामाजिक र संस्थागत उत्तरदायित्वका क्षेत्रहरूमा पनि योगदान पुर्याउनु हो,’ उनले भने, ‘नेपालमा पनि सामाजिक र आर्थिक रुपान्तरणमा सहयोग गर्दै आएका छौँ ।’


















