Dhulikhel Eco Banner new

अर्जेन्टिनाको नाटकीय पुनरागमन, इंग्ल्यान्डलाई हराउँदै फाइनलमा

1.18K
shares

एटलान्टा — खेलको अन्तिम समयमा लाउटारो मार्टिनेजले निर्णायक गोल गरेपछि इंग्ल्यान्डलाई २–१ ले पराजित गर्दै साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ।

गोलरहित पहिलो हाफपछि इंग्ल्यान्डले ५५औँ मिनेटमा एन्थोनी गोर्डनको गोलबाट अग्रता लिएको थियो। मोर्गन रोजर्सको क्रसलाई सदुपयोग गर्दै गोर्डनले इंग्ल्यान्डलाई अघि बढाएका थिए।

अन्तिम समयसम्म एक गोलले पछि रहेको अर्जेन्टिनाले ८५औँ मिनेटमा बराबरी गोल फर्कायो। कप्तान लियोनल मेसीको पासमा एन्जो फर्नान्डेजले पेनाल्टी क्षेत्रबाहिरबाट आकर्षक गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए।

दोस्रो हाफमा थपिएको नौ मिनेटको इन्जुरी टाइमको दोस्रो मिनेटमा वैकल्पिक खेलाडी मार्टिनेजले मेसीकै पासमा गोल गर्दै अर्जेन्टिनालाई निर्णायक अग्रता दिलाए। त्यसपछि अर्जेन्टिनाले बाँकी समय इंग्ल्यान्डको दबाब नियन्त्रण गर्दै जित सुरक्षित गर्‍यो।

खेलमा अर्जेन्टिनाले ६४ प्रतिशत बल नियन्त्रण राखेको थियो। उसका पाँच प्रहार पोस्टको दिशामा रहे भने इंग्ल्यान्डले दुईवटा मात्र सट अन टार्गेट राख्न सक्यो। खेलभर दुवै टोलीबाट गरी २६ फाउल भएका थिए।

तीनपटकको विश्वविजेता अर्जेन्टिना सातौँपटक विश्वकपको फाइनलमा पुगेको हो। उसले यसअघि सन् १९७८, १९८६ र २०२२ मा उपाधि जितेको थियो भने १९३०, १९९० र २०१४ को फाइनलमा पराजय बेहोरेको थियो। लगातार दोस्रो उपाधिको लक्ष्यमा रहेको अर्जेन्टिनाले फाइनलमा स्पेनको सामना गर्नेछ।

सन् १९६६ को विजेता इंग्ल्यान्ड भने तेस्रोपटक विश्वकपको सेमिफाइनलबाट बाहिरिएको छ। यसअघि उसले सन् १९९० र २०१८ को सेमिफाइनलमा पनि पराजय भोगेको थियो।