पाँचबुँदे सार्वजनिक प्रतिबद्धता घोषणा
वि.सं.२०८३ असार ३२ बिहीवार ०९:४३
shares

काठमाडौं, ३२ । बाँकेको डुडुवा गाउँपालिकामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाको आयोजना तथा बास नेपालको सहजीकरणमा गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, सरोकारवाला निकाय र स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको अन्त्यमा गाउँपालिकाले पाँचबुँदे सार्वजनिक प्रतिबद्धता घोषणा गरेको छ। प्रतिबद्धताअनुसार वडा नं.५ को अधुरो सडक आगामी आर्थिक वर्षमा निर्माण गरिने, आवागमन सहज बनाउन आवश्यक स्थानमा ग्राभेल गरिने, वडा नं. ६ हिरमिनियाको मुनासिपुर सडकमा आगामी आर्थिक वर्षभित्र ग्राभेल गरिने, कानुनी प्रक्रिया पूरा गरी
माग गरिएका सार्वजनिक सूचना नागरिकलाई उपलब्ध गराइने तथा गाउँपालिकाबाट प्रवाह हुने सेवा, सुविधा र विकास निर्माणको गुणस्तर थप सुधार गरिने जनाइएको छ। साथै, विगतमा गाउँपालिकामा भएको आगजनी घटनाको छानबिन प्रक्रिया अघि बढाइने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।
करिब २५० भन्दा बढी सहभागी रहेको खुला छलफलमा स्थानीयले सुकुम्बासी समस्या, अलपत्र अवस्थामा रहेका खानेपानी आयोजना, गाउँभित्रका सडकमा ग्राभेलको आवश्यकता, वडा नं। ५ स्वास्थ्य चौकीमा प्रयोगशाला ९ल्याब० कर्मचारी अभाव, सार्वजनिक सूचना नागरिकसम्म प्रभावकारी रूपमा नपुगेको अवस्था तथा वडा नं। १ हिरमिनियाको खडैचा टोलको सडकको दयनीय अवस्थालगायतका विषय उठाएका थिए।
कार्यक्रममा उठेका प्रश्न तथा गुनासोको जवाफ गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले दिएका थिए। उनले स्थानीयका सुझावलाई आगामी योजना तथा बजेट कार्यान्वयनमा समेट्ने प्रतिबद्धता व्यक्त गरे।
बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले स्वागत मन्तव्यसहित कार्यक्रमको उद्देश्यबारे जानकारी गराएका थिए भने संस्थाका केन्द्रीय अध्यक्ष शिवकुमार बर्माले कार्यक्रमको सहजीकरण गरेका थिए।



















