Dhulikhel Eco Banner new

डोलेश्वर महादेवमा ३८ दिने श्रावणी मेला सुरु हुँदै, ५० लाख भक्तजन आउने अनुमान

481
shares

काठमाडौं, ३२ असार । केदारनाथको शिरका रूपमा परिचित भक्तपुरको डोलेश्वर महादेव मन्दिरमा ३८ दिनसम्म चल्ने श्रावणी मेला सुरु हुँदैछ । मेलामा करिब ५० लाख स्वदेशी तथा भारतीय भक्तजन सहभागी हुने अनुमान गरिएको छ ।

सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित डोलेश्वर मन्दिर संरक्षण तथा विकास समितिले मेलाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । समितिका अध्यक्ष धर्मराज बस्नेतका अनुसार साउन महिनामा विशेषगरी शनिबार, आइतबार र सोमबार भक्तजनको अत्यधिक भीड हुने गरेको छ ।

यस वर्ष मेलाको अवधिमा ६० हजारभन्दा बढी भारतीय भक्तजन आउने अपेक्षा गरिएको छ भने भेटी सङ्कलन एक करोड रुपैयाँभन्दा बढी हुने अनुमान गरिएको अध्यक्ष बस्नेतले जानकारी दिए ।

मन्दिर क्षेत्रको विकासलाई निरन्तरता दिँदै करिब २ करोड ५० लाख रुपैयाँ लागतमा निर्माण भइरहेको ५० जना क्षमताको वृद्धाश्रम भवन पनि यसै वर्ष सम्पन्न गर्ने लक्ष्य राखिएको छ । मेला व्यवस्थापनका लागि १४ वटा उपसमिति गठन गरिएको छ भने भक्तजनको स्वास्थ्य सुरक्षाका लागि नेपाली सेना, नगर अस्पताललगायत निकायसँग समन्वय गरिएको छ ।

सूर्यविनायक नगरपालिका–८ का वडाध्यक्ष पुष्पराज बस्नेतले भक्तजनका लागि छुट्टै दर्शन लाइनको व्यवस्था गरिएको र मेला व्यवस्थापनमा स्थानीय तहले आवश्यक सहयोग गर्ने बताए ।

सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन डोलेश्वर क्षेत्र र आसपासका स्थानमा ५५ वटा सिसी क्यामेरा जडान गरी निगरानी गरिने भएको छ । साथै डोलेश्वर–आशापुरी मन्दिर जोड्ने सडक स्तरोन्नतिको काम पनि भइरहेको छ ।

यसैबीच, साउन महिनामै नजिकै रहेको आशापुरी मन्दिरमा समेत विशेष मेला लाग्नेछ । आगामी साउन १ गते चाँगुनारायण मन्दिर क्षेत्रबाट सुरु हुने कलश यात्रा डोलेश्वर महादेव मन्दिरमा पुगेसँगै श्रावणी मेलाको औपचारिक उद्घाटन गरिने समितिले जनाएको छ