टोकियोमा एफएनजे ग्लोबल मिडिया सम्मेलन २०२६ सम्पन्न
वि.सं.२०८३ साउन १० आइतवार ११:०५
shares

काठमाडौं, १० साउन । पत्रकार महासंघ जापान शाखाको आयोजनामा शनिवार टोकियोमा एफएनजे ग्लोबल मिडिया सम्मेलन २०२६ सम्पन्न भएको छ ।
सम्मेलनले टोकियो घोषणापत्र २०२६ पनि जारी गरेको छ । सम्मेलनमा पत्रकारिताका विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गर्नुका साथै पत्रकार र पत्रकारिताका चुनौतीका विभिन्न विषयमा छलफल पनि गरियो । सम्मेलनमा महासंघका केन्द्रीय पदाधिकारी, केन्द्रीय कार्यसमिति सदस्य, प्रदेश तथा एसोसिएट अध्यक्ष, तीन जिल्ला अध्यक्ष, वैदेशिक शाखाका प्रतिनिधि तथा महासंघसँग सहकार्य गरिरहेका विभिन्न संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
नेपाल पत्रकार महासंघका युरोप, बेलायत, बेल्जियम, कुवेत, कतार, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स, भारत र जापान शाखाको सहआयोजना तथा नेपाल अमेरिका पत्रकार संघ र नेपाल अष्ट्रेलिया पत्रकार संघको सहकार्यमा सम्पन्न सम्मेलनले नौबुँदे टोकियो घोषणापत्र जारी गरेको हो । घोषणापत्रमा नेपालको संविधानले प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा अंकुश लगाउने कुनै पनि गतिविधिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै प्रेसमैत्री वातावरण सुनिश्चित गर्न नेपाल सरकारसँग आग्रह गरिएको छ ।
साथै सञ्चारसम्बन्धी कानुन निर्माण वा संशोधन गर्दा सरोकारवालासँग व्यापक परामर्श गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । सम्मेलनले श्रमजीवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयन, न्यूनतम पारिश्रमिक, सेवा–सुविधा, सामाजिक सुरक्षा, नियुक्तिपत्र, बिमा तथा श्रमिक अधिकार सुनिश्चित गर्न सरकार र सञ्चार संस्थाहरूको ध्यानाकर्षण गराएको छ ।
प्रविधिको तीव्र विकाससँगै देखिएका चुनौती व्यवस्थापनका लागि आवश्यक नीति तथा कानुनी व्यवस्था बनाउन पनि सम्बन्धित निकायलाई आग्रह गरिएको छ । घोषणापत्रमा प्रवासमा बसेर नेपाली भाषा, साहित्य, संस्कृति र राष्ट्रिय हितको प्रवर्द्धनमा योगदान गरिरहेका नेपाली पत्रकारको उच्च सम्मान गर्दै महासंघको विधान संशोधनमार्फत वैदेशिक शाखामा आबद्ध सदस्यलाई चुन्ने र चुनिने अधिकार सुनिश्चित गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
त्यसैगरी, विश्वभर रहेका वैदेशिक शाखाको प्रभावकारी समन्वयका लागि महासंघको संगठनात्मक संरचनामा पुनर्संरचना गरी वैदेशिक प्रदेश वा महादेशगत संरचना निर्माण गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।
वैदेशिक शाखाका सदस्यलाई महासंघको केन्द्रीय समितिमा प्रतिनिधित्वको व्यवस्था गर्न पनि सम्मेलनले जोड दिएको छ । सम्मेलनले प्रवासी नेपाली पत्रकारले आर्जन गरेका आधुनिक प्रविधि, ज्ञान, सीप, अनुसन्धान अनुभव र सञ्चार अभ्यासलाई नेपालको पत्रकारिता विकासमा उपयोग गर्न वैदेशिक शाखालाई ज्ञान हस्तान्तरणको प्रभावकारी माध्यमका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएको छ । साथै गैरआवासीय नेपाली नागरिकलाई राजनीतिक अधिकारबाहेक संविधानले प्रत्याभूत गरेका अन्य संवैधानिक अधिकार सहज रूपमा उपभोग गर्न पाउने व्यवस्था सुनिश्चित गर्न नेपाल सरकारसँग माग गरिएको छ ।
घोषणापत्रमा वैदेशिक शाखा तथा महासंघसँग सहकार्य गर्ने संस्थामा आबद्ध सदस्यको मूल सदस्यता निरन्तर कायम राख्ने व्यवस्था गर्न तथा शाखा स्थापना नभएका मुलुकका पत्रकारलाई डिजिटल माध्यमबाट सदस्यता नवीकरण र व्यवस्थापन गर्न सकिने आधुनिक प्रणाली विकास गर्न पनि आग्रह गरिएको छ । यसैबीच, सम्मेलनले विदेशमा कार्यरत नेपाली पत्रकारको योगदानको सम्मानस्वरूप नेपाल पत्रकार महासंघका सम्पूर्ण वैदेशिक शाखाको संयुक्त पहलमा ‘एफएनजे ग्लोबल पत्रकारिता पुरस्कार’ स्थापना गर्ने महत्वपूर्ण निर्णय पनि गरेको छ ।
पत्रकार महासंघ जापान शाखाका अध्यक्ष रविन्द्र श्रेष्ठको अध्यक्षता र केन्द्रिय अध्यक्ष निर्मला शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली राजदूतावास जापानका साथै विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो


















