पूँजीबजार सुधारमा नियामकीय क्षमता बढाउन अर्थमन्त्रीको निर्देशन
वि.सं.२०८३ साउन १२ मंगलवार ०९:०३
shares

काठमाडौँ — अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजारको विकासका लागि नियमनको गुणस्तर सुधार गर्न नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिएका छन्।
सोमबार बोर्डको स्थलगत निरीक्षणका क्रममा उनले लगानीकर्ताको सम्पत्ति संरक्षणलाई प्राथमिकता दिँदै उच्च नैतिकताका साथ काम गर्न बोर्ड नेतृत्वलाई आग्रह गरे। पूँजीबजार नियमनको जिम्मेवारी गम्भीर रहेको उल्लेख गर्दै उनले नीतिगत निर्णय गर्दा सरोकारवालासँग पर्याप्त छलफल गर्नुपर्ने बताए।
नयाँ सरकार गठनपछि लगानीकर्ताको अपेक्षा बढेको भन्दै वाग्लेले बजारसँग सम्बन्धित कानुन तथा नियम बनाउँदा सबै पक्षको साझा बुझाइ कायम गर्नुपर्नेमा जोड दिए। उनले बोर्ड नेतृत्वले घोषणा गरेको प्रतिस्पर्धी र विश्वसनीय पूँजीबजार निर्माणको लक्ष्य कार्यान्वयनमा देखिनुपर्ने बताए।
बोर्डका अध्यक्ष डा. गोपाल भट्टले पूँजीबजार विकासका लागि ब्लूप्रिन्ट तयार गरी काम अघि बढाइएको जानकारी दिए। उनका अनुसार साउनभित्र आईपीओ निष्कासन, इन्ट्रा डे कारोबार, मार्जिन ल्यान्डिङ र सर्ट सेलिङसम्बन्धी निर्देशिका तयार गर्ने योजना छ। ती व्यवस्था सरोकारवालासँग छलफलपछि भदौदेखि क्रमशः कार्यान्वयनमा लैजाने तयारी गरिएको छ।

















