लक्ष्मी सनराइज बैंकको ऋणपत्र निष्काशन आजबाट, ३ अर्ब बराबरको ‘७% डिबेञ्चर’ खरिद गर्न पाइने
वि.सं.२०८३ साउन १४ बिहीवार ०९:०७
shares

लक्ष्मी सनराइज बैंक लिमिटेडले साउन १४ गतेदेखि ऋणपत्र निष्काशन प्रक्रिया अघि बढाएको छ। बैंकले १० वर्षे अवधिका लागि वार्षिक ७ प्रतिशत ब्याज दिने गरी ‘७ प्रतिशत लक्ष्मी सनराइज डिबेञ्चर २०९२’ जारी गर्न लागेको हो।
बैंकका अनुसार प्रतिकित्ता एक हजार रुपैयाँ अंकित मूल्य कायम गरी कुल ३० लाख कित्ता ऋणपत्र निष्काशन गरिनेछ, जसको जम्मा रकम ३ अर्ब रुपैयाँ पुग्छ। यसमध्ये १८ लाख कित्ता (६० प्रतिशत, १ अर्ब ८० करोड रुपैयाँ बराबर) संस्थापक तथा प्रवर्द्धकलगायत व्यक्तिगत समूहका लागि छुट्याइएको छ भने बाँकी १२ लाख कित्ता (४० प्रतिशत, १ अर्ब २० करोड रुपैयाँ बराबर) सर्वसाधारण लगानीकर्ताका लागि खुला राखिएको छ। सर्वसाधारणतर्फ छुट्याइएको हिस्सामध्ये पनि ६० हजार कित्ता (५ प्रतिशत) सामूहिक लगानी कोषका लागि सुरक्षित राखिएको बैंकले जनाएको छ।
निष्काशन हुने ऋणपत्रमा आवेदन गर्न चाहने लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि आवेदन दिन सक्ने र चाहेमा पूरै कित्ताका लागि पनि निवेदन दिन सकिने बैंकले स्पष्ट पारेको छ। निष्काशन अवधि साउन १९ गतेसम्ममा छोटिन सक्ने र बढीमा साउन २८ गतेसम्म कायम रहने बैंकको भनाइ छ।
यस निष्काशनको इस्यू म्यानेजरको जिम्मेवारी माछापुच्छ्रे क्यापिटल लिमिटेडले पाएको छ। नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी-आस्बा सेवामा आबद्ध बैंक तथा वित्तीय संस्थाका शाखाहरूबाट, साथै सीडीएस एन्ड क्लियरिङ लिमिटेडले तयार पारेको ‘मेरो शेयर’ एपमार्फत पनि लगानीकर्ताले आवेदन दिन सक्नेछन्।
केयर रेटिङ्ग्स नेपालले यस ऋणपत्रलाई ‘केयरएनपी ट्रिपल बी प्लस’ इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले बैंकको वित्तीय दायित्व चुक्ता गर्ने क्षमता मध्यम स्तरको सुरक्षित रहेको संकेत गर्छ। ऋणपत्रमा आर्जन हुने ब्याज रकम प्रत्येक आर्थिक वर्षको पहिलो र दोस्रो अर्धवार्षिक अवधि सकिएपछि कर कट्टी गरी भुक्तानी हुनेछ।















