Dhulikhel Eco Banner new

नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरूको विशेष अफर, ०.५ प्रतिशत सेवा शुल्कमै कर्जा

533
shares

काठमाडौं, २९ साउन । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा सहभागी बैंकहरूले सवारीसाधन खरिदका लागि विशेष ब्याजदर र सुविधासहित अटो लोन उपलब्ध गराइरहेका छन् । आयोजक नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)सँग साझेदारी गरेका ग्लोबल आइएमई बैंक, सिद्धार्थ बैंक र एनएमबी बैंकले मेलास्थलमै ग्राहकलाई कर्जा सुविधा उपलब्ध गराएका हुन् ।

एक्स्पोमा आफूलाई मन परेको सवारीसाधन छनोट गरेपछि अवलोकनकर्ताले बैंकका स्टलमा पुगेर अटो लोनका लागि नाम दर्ता गराउने तथा आवेदन दिने गरेका छन् । बैंकहरूले आधारदरमा ०.५ प्रतिशतदेखि १ प्रतिशतसम्म प्रिमियममा कर्जा उपलब्ध गराइरहेका छन् भने सेवा शुल्क ०.५ प्रतिशत मात्र लिने बताएका छन् ।एक्स्पोको तेस्रो दिनसम्म अवलोकनकर्ताको संख्या बढेसँगै बैंकका स्टलमा पनि कर्जाबारे जानकारी लिन आउनेको भीड बढेको छ ।

ग्लोबल आइएमई बैंकका एसएमई तथा रिटेल बैंकिङ म्यानेजर मन्जिल बिष्टका अनुसार सवारीसाधन छनोट गरेपछि कर्जाका लागि नाम टिपाउने र क्यूआर स्क्यानमार्फत आवेदन दिने ग्राहकको संख्या उल्लेख्य छ ।‘गाडी छनोट गरिसकेपछि हाम्रो स्टलमा आएर कर्जाका लागि नाम टिपाउने तथा क्यूआर स्क्यान गरेर आवेदन दिनेहरूको संख्या उल्लेख्य छ,’ उनले भने, ‘सवारी विक्रेता कम्पनीहरूले आकर्षक अफर ल्याएर अवलोकनकर्ताको मन जितिरहँदा त्यसलाई सहयोग पुग्नेगरी हामीले काम गरिरहेका छौँ।’

मेलामा कर्जाका लागि नाम दर्ता गराउने ग्राहकलाई सम्बन्धित बैंकको शाखासँग जोड्ने काममा बैंकका स्टलले सहजीकरण गरिरहेका छन् ।सिद्धार्थ बैंकका लाजिम्पाट शाखा प्रबन्धक विष्णुप्रसाद शर्माले स्टलमा संकलन भएका ग्राहकका विवरण केन्द्रीय कार्यालयमा पठाउने र केन्द्रीय कार्यालयले ग्राहकलाई सम्पर्क गरी सम्बन्धित शाखासँग जोड्ने गरेको बताए ।

‘कतिपय अवलोकनकर्तालाई हामीले सिधै शाखासँग जोडिदिने गरेका छौँ,’ उनले भने । उनका अनुसार सवारीसाधन छनोट गरेपछि कर्जाका लागि नाम दर्ता गराउने ग्राहकको संख्या हरेक दिन बढिरहेको छ ।एनएमबी बैंकले पनि एक्स्पोस्थलमा रहेको आफ्नो स्टलबाट अवलोकनकर्तालाई अटो लोनसम्बन्धी सेवा दिइरहेको जनाएको छ । बैंककी रिलेसनसिप म्यानेजर समीक्षा पन्तका अनुसार नाइमालाई लक्षित गर्दै बैंकले ब्याजदर परिमार्जन गरेको हो ।

‘हामीले मेला अवलोकनकर्तालाई आकर्षक ब्याजदरमा कर्जा उपलब्ध गराउन सहजीकरण गरिरहेका छौँ,’ उनले भनिन्, ‘नाइमालाई लक्षित गरेर ब्याजदर रिभाइज गरेका हौँ । ग्राहकको रेस्पोन्स राम्रो आइरहेको छ।’नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणालीलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको दोस्रो संस्करणको नाइमा नेपाल मोबिलिटी एक्स्पो साउन ३१ गतेसम्म सञ्चालन हुनेछ ।

एक्स्पोमा स्वदेशी तथा बहुराष्ट्रिय सवारीसाधन निर्माता र आयातकर्ताको उल्लेख्य सहभागिता रहेको छ । नेपालमा पहिलोपटक प्रवेश गरेका ब्रान्डदेखि नयाँ मोडलका विद्युतीय कार, ई–स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधन एक्स्पोका मुख्य आकर्षण बनेका छन् ।

बैंकहरूको विशेष कर्जा योजना र सवारी विक्रेता कम्पनीका आकर्षक अफरका कारण यसपटकको एक्स्पोमा सवारीसाधन खरिद गर्न चाहने ग्राहकको चासोसमेत बढेको आयोजकले जनाएको छ।